
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार नीति तथा कार्यक्रमको सम्बोधन गर्दै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्नुभयो। सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रिकेट मैदान निर्माणलाई नै प्राथमिकतामा राखेको छ। जसमा मुख्य चार क्रिकेट मैदान परेका छन्।
यसमा नयाँपन केही छैन । हरेक वर्ष क्रिकेट मैदानलाई नै जोड दिइएको हुन्छ। मानौं नेपालमा क्रिकेटबाहेक अरू खेल नै खेलिँदैन। काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणमा तिव्रता ल्याउने, कीर्तिपुरको त्रिवि मैदान स्तोरोन्नती गर्ने रहेका छन्। तर, यो हरेक वर्ष यस्तै नीति ल्याएपनि यी दुबै मैदानले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।
त्रिवि मैदानमा दर्शक बस्ने प्यारापिट बनाउने, फ्लडलाइट राख्ने भन्ने योजना बोलिरहेको पनि धेरै वर्ष बितिसकेको छ। अघिल्लो आर्थिक वर्षमा फ्लडलाइट राखेर रात्रिकालिन खेल पनि संचालन गर्ने भनेर योजना ल्याएको थियो। त्यो दुई वर्ष बित्दा पनि १ प्रतिशत पनि काम भएको छैन।
यसैगरी मोरङको क्रिकेट मैदान र कैलालीको फाप्ला क्रिकेट रंगशालाको निर्माणमा तीव्रता ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै, चितवनको भरतपुरमा निमार्णधिन गौतमवुद्ध क्रिकेट रगंशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा समेटिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउने पनि नीति र कार्यक्रम सकारात्मक रहेको छ। यो वर्ष हुने दसौं राष्ट्रिय खेलकुद आयोजनालाई पनि नीति तथा कार्यक्रममा समेट्नु पनि सकारात्मक पक्ष नै हो। अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत र सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ता व्यवस्था गर्ने सरकारले नीति तथा कार्यक्रममा सम्बोधन गरिएको छ।
खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउने विषयलाई कार्यक्रममा स्थान दिइएको छ। विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता तालिम दिइने निति तथा कार्यक्रममा समावेश गरिएको छ।
कभर्ड हल बनाउने नीतिमा रहेन
नेपालमा भलिबल, ब्याडमिन्टन, टेबलटेनिस जस्ता खेलहरू पनि लोकप्रिय छन्। तर, भलिबलका लागि छुट्टै कभर्ड हलको आवश्यक भइसकेको छ। राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा रहेको कभर्ड हल अहिले दर्शक थेग्न सक्ने अवस्था छैनन्।
त्यस्तै टेबलटेनिस खेल्ने लैनचौरको टेबलटेनिस प्रशिक्षण केन्द्रको अवस्था पनि त्यति राम्रो छैन। यसको बावजुद सरकार यी खेलप्रति उदासीनता बनिरहेको छ। यी खेलसँगैं अन्य खेलहरूप्रति पनि सरकारबाट सम्बोधन भइरहेकै छैन।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।