२३ भदौ , काठमाडौँ – नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।
पछिल्लो समय नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
निकै चर्चामा रहेकाे एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध मुद्धा दायर भएको थियो । साेमबार काठमाडाैं जिल्ला अदालतमा नेपाल अाइडल बिरूद्द मुद्दा दायर भएको थियो । करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ मा टेकेर आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका थिए ।
काठमाडौं जिल्ला अदालतको शुक्रबारको फैसलामा भनिएको छ, ‘निवेदकले निवेदनमा माग गर्नु भएको करार ऐन २०५६ को दफा ८७ अन्तर्गतको उपयुक्त आदेश जारी हुनका लागि वस्तुतह निवेदक करारको एक पक्षीय हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिई प्रस्तुत निवेदन परेको देखिन्छ । त्यो कानुनी प्रवधान अन्तर्गत निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । अतः प्रस्तुत निवेदन खारेज हुने ठहर्छ ।’