म्याग्दी।
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा शनिवार सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले स्थानीयको माग र आवश्यकताको आधारमा आयोजित शिविरमा कुल ६ सय ६० जना स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । शिविरको मेडिकलतर्फ महिला, पुरुष र बालबालिकासहित ४ सय ७ जना र आयुर्वेद स्वास्थ्यतर्फ १ सय ४३ जना लाभान्वित भएका छन् ।
यसैगरी शिविरमा भेटेरिनरीतर्फ ८६ र कृषि सम्बन्धी २४ जना स्थानीय कृषकहरुले सेवा लिएका छन् । बृहत् एकीकृत स्वास्थ्य शिविरमा स्थानीयवासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा र निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरको अवसरमा जिल्लास्थित विभिन्न विषयगत कार्यालयहरुबाट स्थानीयवासीलाई लक्षित गरेर आयुर्वेद, भेटेरिनरी, कृषि सम्बन्धी सेवा तथा परामर्श, जैविक विषादी र नियन्त्रणका उपायलगायत बारेमा जानकारी गराइएको छ ।
शनिवार दिनभर सञ्चालन भएको शिविरमा मेडिकलतर्फ जनरल ओपिडी, हार्डजोर्नी, मनोरोग, दन्तसेवा, आँखा परीक्षण, ल्याव, युएसजीलगायत सेवाहरु उपलब्ध गराइएको थियो । जनरल ओपिडीतर्फ ग्याँस्ट्रिक, सुगर, प्रेसर, छाला तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीहरु भेटिएको हुँदा उपचार तथा परामर्श सेवा दिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताए ।
उक्त शिविरमा सैनिक अस्पताल पोखरा, धौलागिरि अञ्चल अस्पताल बागलुङ र बेनी अस्पताल म्याग्दीबाट गरी कुल २५ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचार सेवा प्रदान गरेका थिए । शिविरको उद्घाटन गर्दै पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको जनहित कार्य सञ्चालन निर्देशिका–२०७७ अन्तर्गत विभिन्न दुर्गम स्थानमा माग र आवश्यकताअनुसार विपन्न, सिमान्तकृत र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको जानकारी दिए ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकावासीको स्वास्थ्यलाई लक्षित गरेर विभिन्न प्रयत्नहरु गरिएको बताउँदै यसवर्ष दलित, एकल महिला र विपन्न समुदायलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरले स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारमा सहयोग पु¥याउने बताए ।
कार्यक्रमको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पु¥याउने जिल्लास्थित विभिन्न संघसंस्था र कार्यालयहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । शिविरको औपचारिक कार्यक्रम शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका उपसेनानी पुस्करसिंह ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो भने श्री नं २३ बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले स्वागत गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।