जर्मनी ।
मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार यँहा एक विशेष स्वागत समारोह आयोजना गर्यो। राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे। ” जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु”, राष्ट्रपति पौडेलले भने ।
उनले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौति रहेको बताउँदै खास गरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जोड दिए। सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहास्थित नेपालीहरूले स्वागत गरेका थिए।
सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली सङ्घका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्।
राष्ट्रपति पौडेल र उनका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयर बीच सोमबार भेटवार्ता हुने कार्यक्रम छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।