काठमाडौं ।
नेपाल प्रेस इन्स्टिच्युटले मंगलबारदेखि ४०औँ समूहको १० महिने पत्रकारिता तालिमको सुरुआत गरेको छ।तालिममा विभिन्न जिल्लाबाट १० महिला र १६ पुरुष गरी २६ प्रशिक्षार्थी सहभागी छन् ।
तालिममा ६ महिना डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुने र चार महिना प्रयोगात्मक अभ्यासमा सहभागी गराइने तालिमका संयोजक कपिल काफ्लेले जानकारी दिए ।
तालिममा सहभागीमध्ये सात जना नेपाल प्रहरी र दुई मानवअधिकारकर्मी पनि छन् । यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीजस्ता सुरक्षा निकायबाट खटिएका सहभागी पनि तालिम लिइरहेका छन् । सहभागीमध्ये केही पत्रकारितामा औपचारिक शिक्षा हासिल गरिसकेका र पत्रकारिता गरिरहेका व्यक्ति पनि रहेको परिचय कार्यक्रममा खुलेको छ । १२ कक्षा उत्तीर्ण व्यक्तिले तालिम लिनसक्ने यस कार्यक्रममा स्नातकोत्तर उत्तीर्ण सहभागी पनि छन् ।
डिजिटल कक्षा हप्ताको पाँचदिन बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।
तालिममा आधारभूत पत्रकारिता, समाचार रिपोर्टिङ तथा लेखन, डिजिटल मिडिया, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, फिचर लेखन सम्बन्धी ज्ञान दिइने संयोजक काफ्लेले बताए । चार महिने प्रयोगात्मक अभ्यासका लागि इन्ष्टिच्यूटले सहभागीलाई प्रतिष्ठित सञ्चार गृहमा लगाउने व्यवस्था छ । तालिम दूर शिक्षा प्रणालीबाट भए पनि अन्तिम परीक्षा प्रत्यक्ष भौतिक उपस्थितिमा हातैले लेखेर दिनुपर्ने व्यवस्था छ ।
भौतिक रुपमा तालिमका लागि राजधानी आउन नसक्ने सहभागीलाई अनलाइन माध्यमले अवसर जुराएको भन्दै सहभागीहरुले प्रसन्नता व्यक्त गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।