काठमाडौं ।
नेपाल सरकारले बङ्गलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रूपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ।
परराष्ट्रले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउँदै बङ्गलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो रूपमा चिन्तित भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा परराष्ट्रले भनेको छ- ‘बङ्गलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौँ । ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्त्वलाई जोड दिन्छौँ । हामी विश्वस्त छौँ कि, बङ्गलादेशका उदार जनताले सङ्क्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।