
काभ्रे।
धुलिखेलमा रहेको बौद्ध विहारमा बस्दै आएका ८४ वर्षीय ज्येष्ठ भिक्षु गुण घोषलाई कुटपिट गरी लुटपाट गर्ने समूहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । भिक्षु गुण घोषलाई कुटपिट गर्दै मुखमा कपडा कोची, डोरीले बाँधेर नगद चोरी गरिएको थियो ।
भदौ ६ गते बिहान ३ बजेको समयमा धुलिखेल नगरपालिका वडा नम्बर ७ मा भिमसेनस्थानमा रहेको बौद्ध विहार भित्र प्रवेश गरी भिछु गुण घोषलाई कुटपिट गरेका थिए । भिक्षु गुणघोष ४५ वर्ष देखि सोहि विहारमा बस्दै बौद्ध धर्म सम्बन्धी प्रवचन दिँदै आएका थिए । उनको स्थायी ठेगना ललितपुर पाटन रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठका अनुसार भिक्षु गुण घोषलाई कुटपिट गरी अमानवीय ढंगबाट यातना दिँदै चोरी गर्ने मध्येका एक जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ । प्रहरीले संलग्न भएका अन्यको पनि खोजी जारी राखेको बताएको छ ।
झापा जिल्ला मेची नगरपालिका ९ बस्ने २० वर्षीय आदित्य श्रेष्ठलाई प्रहरीले धुलिखेलबाट नियन्त्रणमा लिएको छ । उनी बौद्ध बिहारमा चोरी गरी धुलिखेलको होटल हिल सेभेनमा बसोबास गरिरहेका थिए । प्रहरीले भदौ ७ गते नै उनलाई पक्राउ गरेको थियो ।
घाइते ज्येष्ठ नागरिक समेत रहेका भिक्षु गुणघोषणलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । उनको उपचार भइरहेको जनाइएको छ । विहारबाट १ लाख ६५ हजार ८ सय ९० रुपैयाँ नगद चोरी भएको थियो ।
प्रहरीले आदित्य सहित चोरी भएको पैसा समेत बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई चोरी तथा डाँका अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।