काठमाडौं ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको छ।
क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानडा पुगेकी छन् । दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको छ। नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बार्षिकोत्सव मनाउँदै छन् ।
त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्याएको सहयोगको सराहना गरेकी छन्। नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिइन्।
साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरिन। नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रूपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन। त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह पनि गरिन।
उनले भनिन्“अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरू आदानप्रदान भइरहेको छ । त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु।”
उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरेकी छन्।
अतिकम विकसित राष्ट्रका रूपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरूलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्री सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन्। जलविद्युतका क्षेत्रमा क्यानडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठुलो सम्भावना रहेकाले लगानी गर्न क्यानडालाई आग्रह गरिन।
नेपाल र क्यानडाबीच कैयौँ अन्तर्राष्ट्रिय मुद्दा तथा विषयहरूमा समान धारणा रहँदै आएको बताउँदै मन्त्री डा राणाले सो भेटका क्रममा बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घमा शान्ति स्थापनार्थ गरिएका कामहरू, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका क्षेत्रमा नेपाल र क्यानडाले समान धारणा र सहकार्यका साथ काम गर्दै आएको बताइन्। नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा शान्ति सेना पठाउने विश्वको ठुलो देश रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालले विगत छ दशकभन्दा लामो समयदेखि यो कार्यमा योगदान र अनुभव गर्दै आएको र कैयौँ शान्ति स्थापनाका कार्यमा दुई देशले मिलेर काम गर्ने गरेका उदाहरण रहेका पनि बताइन्।
उनले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको शान्ति मिसनमा काम गरिसकेका र अहिले पनि सो मिसनमा खटिरहेकामा ६०८ जना महिला रहेका जानकारी दिइन्। आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो । साथै आगामी वर्ष मनाइने नेपाल क्यानडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठका दौरानमा यी समझदारीमा हस्ताक्षर हुने गरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ।
नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि सो वार्तामा भएको थियो । सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानाडाली विदेशमन्त्री जोलीले आग्रह गरिन।
उनले पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि सराहना गरिन । त्यसैगरी उनले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राख्नुभएको नेपालमा क्यानाडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन्। हाल क्यानडामा नेपालीहरूको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरू इमानदार र काममा लगनशील भएको आफूले पाएको पनि सुनाइन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।