काठमाडौँ।
त्रिभुवन विश्वविद्यालयमा भइरहेका नियुक्ति प्रक्रियाहरूमा नेविसंघले आपत्ति जनाएको छ । नेविसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थामा योग्यता, प्रतिस्पर्धा र निष्पक्षताका आधारमा नियुक्ति हुनुपर्नेमा राजनीतिक भागबन्डा र आर्थिक लेनदेनको केन्द्र बनेको भन्दै आपत्ति जनाएको हो।
‘विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थामा योग्यता, प्रतिस्पर्धा र निष्पक्षताका आधारमा नियुक्ति हुनुपर्नेमा, यसलाई राजनीतिक भागबन्डा र आर्थिक लेनदेनको केन्द्र बनाइनु अत्यन्त खेदजनक छ। यसले विश्वविद्यालयको प्रतिष्ठामा गम्भीर असर पार्नुका साथै योग्य र क्षमतावान् व्यक्तिहरूका लागि अवसरका ढोकाहरू पनि बन्द गरिरहेको छ । विश्वविद्यालयमा यस्तो अवस्था सिर्जना हुनु आफैँमा खेदजनक विषय हो ।’ अध्यक्ष किशोर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’मेरिटोक्रेसीको मर्म विपरीत राजनीतिक दबाब र अन्यायपूर्ण निर्णयको आधारमा गरिएको सिफारिसको प्रक्रिया नेपालको शैक्षिक सुधारमा बाधक साबित हुन सक्ने भएकाले, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई यस प्रति पुनर्विचार गर्न, निष्पक्षता र पारदर्शिताको मापदण्ड अपनाउन र योग्यताको आधारमा मात्र निर्णयहरू लिन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति हार्दिक अनुरोध गर्दछ ।’
उक्त विषयमा तुरुन्त आवश्यक सुधार र निर्णयहरू नगरिएमा संघले थप संघर्षका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत दिएको छ । शैक्षिक क्षेत्रको मर्यादा कायम राख्न र योग्यताको सम्मान गर्न पनि संघले सरोकारवालाहरूलाई अपिल गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।