पोखरा ।
नेपाल संवत् ११४५ का अवसरमा गगन नेवा: खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना र्याली गरिएको छ ।
पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगांैडासम्म र्याली आयोजना गरिएको गगन नेवा: खलका सचिव शरणकुमार प्रधानले जानकारी दिए ।
नेपाल संवत्को महिमा र गरिमालाई नयाँ पुस्तामाझ पुर्याउँदै नेवारी संस्कार र संस्कृतिको प्रवर्द्धन समेतको उद्देश्य राखी र्याली आयोजना गरिएको उनले बताए ।
र्यालीमा जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षासेवी, विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्ति एवम् सर्वसाधारणको उपस्थिति थियो ।
र्यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा संस्कार र संस्कृतिको जगेर्नाका लागि सामूहिक प्रयास आवश्यक भएको बताए ।
नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल संवत् नेपालको राष्ट्रिय संवत् भएको बताए । हामीले आफ्ना भाषा र संस्कृतिको संरक्षण गर्नुुपर्नेमा जोड दिदै उनले कोही कसैले संस्कार र संस्कृति बिर्सन नहुनेमा जोड दिए । पछिल्ला समयमा हाम्रा मौलिक संस्कृति तथा संस्कार हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।
गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षता एवम् सचिव शरणकुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछाने, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उत्तममान बज्राचार्य, मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्य, पूर्व अध्यक्ष मेनुका श्रेष्ठ लगायतले नेपाल संवत्को महत्वबारे आ आफ्ना धारणा राखेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।