काठमाडौं ।
गुण्डागर्दीको पृष्ठभूमिबाटै एकाएक राजनीतिमा उदाएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मंगलबार जेल चलान हुनुभएको छ।
२१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा सर्वोच्च अदालतले उच्च अदालतको फैसलालाई नै सदर गर्दै ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उहाँलाई मंगलबार बिहान प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो।
पक्राउ परेसँगै काठमाडौं जिल्ला अदालतमा पेस भएलगत्तै डिल्लीबजार कारागार चलान गरिएको हो। गुण्डागर्दीकै पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका मनाङे दुईपटक गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएर पटकपटक मन्त्रीसमेत भइसक्नुभएको थियो। मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ।
ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलनमाथि २०६१ सालमा आक्रमण गरेको थियो । सो क्रममा चक्रे मिलनको हात छिनेको थियो। सोही घटनाको मुद्दामा अहिले माथिल्लो अदालतबाट फैसला भएसँगै कार्यान्वयनमा गएको हो।
उहाँलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले मंगलबार काठमाडौंको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो । मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ पर्नुभएको थियो।
आफूले चलाउने मोबाइल काठमाडौं उपत्यकाबाहिर पठाएर काठमाडौंमा लुकेर बसेको सूचनाका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्तिक २० मा सर्वोच्च अदालतले उहाँलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उहाँ सम्पर्कविहीन हुनुहुन्थ्यो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।