धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनकाबीच उप–प्रमुख विश्वकर्मालाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’ प्रदान गरिएको हो ।
दलित समुुदायको हक अधिकारका लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उपमेयर विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । विश्वकर्मा २०७९ सालको स्थानीय तह निर्वाचनबाट नीलकण्ठ नगरपालिकाको उप–प्रमुखमा निर्वाचित भएका थिए ।
शान्त, शालीन र समाज परिवर्तनको हुटहुटि बोकेका उनले नगरपालिकामा उल्लेखनीय काम गर्दै आएका छन् । दलित हक अधिकारदेखि सामाजिक रुपान्तरणमा उनी विश्वासिलो पात्र बनेका छन् ।
निर्वाचित भएपनि नगरपालिकाभित्र निःशुल्क शिक्षाको कार्यान्वयन, दलित र विपन्नलाई छात्रवृत्तिको व्यवस्था, विकास निर्माणको प्रभावकारिता लगायतका क्षेत्रले यो पुरस्कार दिलाएको नगर उप–प्रमुख विश्वकर्मा बताउँछन् । ‘पालिकाभित्रका दलित विद्यार्थीहरूलाई एमबिबिएस पढ्न कम्तिमा १ लाख लगायत अन्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरू पनि चलिरहेको छ । निःशुल्क तथा गुुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छौं । चुनावी मैदानमा जादा गरेका प्रतिवद्धताहरु पुरा गर्दै आएका छौं’ उनले भने– ‘समृद्ध नगर बनाउन सबैको साथले सम्भव बनेको हो । यो पुरस्कार सिंगो नगरपालिकाको हो । यसले नीलकण्ठ नगरपालिकाको पहिचान स्थापितसँगै आगामी दिनमा अझै राम्रा कामका लागि हौसल र चुनौति थपिएको छ । हामी त नागरिकको सेवक हौं । अझै सेवा गर्ने उत्प्रेरण मिलेको छ ।’
बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले आयोजना गरेको सम्मेलनमा भारतमा नगर उप–प्रमुख विश्वकर्मा सम्मानित भएका हुन् । कार्यक्रममा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवी र समाजसेवीहरू पुगेका थिए ।
सोही एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिइन् । मेइरा जगजीवनरामकी छोरी हुन् । जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्ता मध्येका एक हुन् । उनले संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि महत्वपूर्ण योगदान थियो ।
उनकै सम्झनामा भारतको संविधान निर्माता डाक्टर भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । दलित समदायको हक अधिकारका लागि पुर्याएको योगदानका लागि उपमेयर विश्वकर्मालाई सो पुरस्कार दिइएको हो
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।