सुर्खेत।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभामा पेस भएको दलित सशक्तीकरण सम्बन्धी विधेयक छिट्टै पास हुने बताएका छन् । दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवाहरुसँग मङ्गलवार आफ्नै कार्यकक्षमा भेट गर्दे मुख्यमन्त्री कँडेलले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेशसभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।
मुख्यमन्त्री कँडेलले अघिल्लै कार्यकालमा पास हुनुपर्ने उक्त विधेयकमा राखिएका प्रस्तावित विषयहरूलाई छलफल गरेर निष्कर्षमा पु¥याउने काम विषयगत समितिले गरिरहेकोले समितिलाई सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने जानकारी मुख्यमन्त्रीले दिए । “प्रदेशसभामा छिटो भन्दा छिटो प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो काम गरिरहेको मैले जानकारी पाएको छु, मुख्यमन्त्रीमन्त्री कँडेलले भने, तपाईहरुका तर्फबाट पनि कुनै विषयहरु छन भने समितिका सदस्यहरुलाई जानकारी गराउनुहोला ।”
प्रदेशसभाको अघिल्लो कार्यकालमा पेस पनि दलित सशक्तीकरण सम्बन्धी विधेयक प्रदेशसभामा टेबलनै नभई फिर्ता भएको तर यस पटक उक्त घटना नदोहोरिने पनि मुख्यमन्त्री कँडेलले छलफलको क्रममा जानकारी गराए । सरकार आफैले विधेयक दर्ता गरिसकेपछि त्यसलाई प्रदेशसभाबाट पास गराउने जिम्मेवारी पनि प्रदेशसभाको भएको बताउँदै मुख्यमन्त्री कँडेलले समय ढिलोचाँडो होला तर विधेयक पास गराउने तर्फ सरकारको पुरै ध्यान जान्छ ।”
मुख्यमन्त्री कँडेलले दलित समुदायको हक, हित र उत्थानको लागि प्रदेश सरकारको तर्फबाट विशेष ध्यान गएको बताउँदै यस वर्ष कार्यान्वयन हुने गरी ५ करोड विनियोजन गरेको जानकारी पनि दिए । दलित विधेयक ६ वर्षदेखि प्रदेशसभाबाट पास हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलनको संस्थाले आज मुख्यमन्त्री कार्यालय अगाडी पर्दशन गरेको थियो । आन्दोलनका अगुवाहरुलाई मुख्यमन्त्री कँडेलले आफै बोलाएर छलफल गरेका हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।