०९ असोज ,धकधई – एमाले नेताहरूले मधेसको मुहार फेर्न अबको चुनाबमा एमालेले जित्नु पर्ने बताएका छन् । मधेशका खास त्यस्ता ठाउँहरुमा एमालेले विजय हासिल नगर्दा नै त्यहाँको विकास निर्माण र समाज रुपान्तरणको काम पछाडि परेको भन्दै नेताहरुले आफ्नो पार्टीलाई एक पटक बहुमतको सरकार बनाउने अवसर दिन आग्रह गरे ।
एमाले क्षेत्र नं. १ को क्षेत्रीय कमिटीको आयोजनामा रोहिणी गाउँपालिका अन्तर्गतको धकधई बजार चोकमा एमालेले शनिबार गरेको विशाल सभा गरेको थियो । सोही सभामा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसहित विभिन्न पार्टीबाट करिब एक हजार दुई सय जना एमालेमा प्रवेश गरेका थिए । तिनै नेताहरुलाई पार्टीमा स्वागत गर्न एमालेले सभाको आयोजना गरेको थियो ।
सभामा एमाले उपमहासचिव द्वय विष्णु पौडेल, घनश्याम भुषालसहित स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य लिला गिरीलगायत प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटीलगायतका विभिन्न नेताहरु धकधईमा जुटेका थिए ।
नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य दिलिपमणि त्रिपाठी, नयाँ शक्ति पार्टीका जिल्ला उपाध्यक्ष सुनिल कौसल, संघीय समाजवादी फोरमका जिल्ला सदस्य विजयलक्ष्मी पाण्डे, राप्रपाका जिल्ला सदस्य जितराम चौधरी तथा कांग्रेस जिल्ला सदस्य दिलिप चौधरीलगायतका विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका सदस्य सञ्जय गुप्ताले जानकारी दिए ।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै नेताहरुले एमालेलाई पूर्वाग्रहपूर्ण रुपमा र षड्यन्त्रमूलक तरिकाले मधेशको विरोधीका रुपमा चित्रण गर्न खोजिएपनि मधेशका असली जनताहरुले एमालेको विश्वास गरेको कुरा प्रमाणित भएको बताए । उनीहरुको विभिन्न समयमा मधेशबाट चुनाव जितेर सत्तामा पुगेकाहरुले यहाँको गरिबी, असमानता, विभेद र अन्यायलाई समाधान नगरी त्यसैलाई भोट बैंकका रुपमा प्रयोग गर्ने गरेको बताउँदै एक पटक एमालेका पक्षमा मतदान गरेर हेर्न आम समुदायलाई आग्रह गरे ।
नेताहरूले मधेसमा विद्यमान समस्या समाधान गर्नका लागि पनि एमालेले जित्नु पर्ने बताए । विभेदपूर्ण विकास र असमानतालाई चुनावी हतियार बनाउनेहरुले मधेसमा झन् अन्याय गरिरहेको एमाले नेताहरूले बताएका छन् । मधेसको समग्र विकास, समृद्धि र समानताका लागि एमालेले के के ग¥यो भन्ने कुरा सरकारमा रहेका बेलाको नीति तथा कार्यक्रम र बजेटलाई हेरे प्रष्ट हुने नेताहरूको भनाइ थियो ।
नेताहरु तुलसीप्रसाद चौधरी, बाबुलाल यादव, जागेश्वरीदेवी चौधरी, शिद्धिचरण भट्टराई, सैलेन्द्र उपाध्यायलगायतले बोल्दै मधेस रुपान्तरण र समृद्धिको जिम्मेवारी एमालेलाई सुम्पन आग्रह गरेका थिए । पार्टी नेता सञ्जय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शैलेन्द्र उपाध्यायले गरेका थिए ।
स्रोत : मेचीकाली सन्देश