नक्सालमा सडक निर्माण गर्दा छोपिएको भैरव मन्दिरको भग्नावशेष जोगाउन कामपा वडा १ ले काम सुरु गरेको छ । नक्साल भगवती मन्दिरबाट नागपोखरीतर्फ जाने मुख्य सडकको मध्य भागमा रहेको चारढुंगे स्थलमा सवारी साधन गुड्ने कालोपत्रे सडकमुनि भैरवको मन्दिरको भग्नावशेष फेला पारिएको हो ।
त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले संरक्षणमा लिएको छ । हराएको करिब ४७ वर्षपछि भैरव मन्दिर भेटिँदा स्थानीयमा खुसीयाली छाएको छ । यस मन्दिरको स्थापनाका विषयमा ठोस तथ्य भने नरहेको संस्कृतिविद् बताउँछन् । करिब २०२४ सालतिर मन्दिर छोपिएको स्थानीय बताउँछन् ।
त्यसअघिसम्म खाडलका चारतिर ढुंगाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो र मानिसहरू त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे ।
अब यस मन्दिरलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने वडाको योजना रहेको छ । मन्दिरको भग्नावशेष बचाउन निर्माण कार्य गर्दै मजदुर ।
तस्वीर: अनिल आङदेम्बे
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।