उदयपुर।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष पनि सञ्चालन हुने भएको छ । यस अघि असोज १७ गते देखि प्रतियोगिता हुने भनिएको दसौँ संस्करणको नारदमुनी गोल्डकप बाढी पहिरो र विपत्तिका कारण रोकिएको थियो ।
२००७ सालका क्रान्ति योद्धा तथा पूर्व मन्त्री स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ । बसाहा क्लवले असोजमा आएको बाढी पहिरोका कारण पूर्वनिर्धारित समय (असोज १७ गते)मा गोल्डकप गर्न असमर्थ भएको थियो । पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकेको क्लबको बैठकले पूर्व मन्त्री समेत रहेका स्वर्गीय नारदमुनि थुलुङ राइको माघ २२ गते पर्ने स्वर्गारोहणको मितिलाई लक्षित गरी माघ १५ गते देखि दसौँ संस्करणको नारदमुनी गोल्डकप सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन्। प्रतियोगितामा यस अघि असोज १७ गतेका लागि तय गरिएका टिमहरु आयोजक बसाहा क्लबसहित साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौँ, सलेहस क्लब सिराहा र सङ्कटा एफ.सी. काठमाडौंले नै फेरी पनि सहभागिता जनाउने बताइएको छ । यद्यपि समय परिवर्तन भए संगै क्लव पनि परिवर्तन हुन सक्ने क्लबका सल्लाहकार शेखर राईले जानकारी दिए । उनले समय परिवर्तन हुँदा पुरानै टिमले प्रतियोगितामा सहभागिता जनाउँछन् भन्ने टुंगो नहुने भए पनि अधिकांश यिनै टिमले भाग लिने बताए । खेल समय परिवर्तन हुँदा केही टिमलाई पूर्व निर्धारित तालिका अनुसार खेल खेल्न अन्यत्र जानु पर्ने भयो भने टिम परिवर्तन हुने अन्यथा सबै टिमले सहभागिता जनाउने सल्लाहकार राईको भनाई छ ।
प्रतियोगिता यही माघ १५ गतेबाट माघ २२ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ५ लाख नगदसहित ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेताले २ लाख २५ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजार प्रमाण पत्र र मेडल सहित सम्मान गरिने आयोजकले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।