म्याग्दी।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजना र नवीन आनन्द योग केन्द्र नेपाल, म्याग्दीको समन्वयमा एक समारोहको आयोजना गरी योग दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्वस्थ जीवनयापनको लागि योग अति आवश्यक रहेको बताए । उनले मानव जीवन तथा दैनिक कार्यसम्पादनमा योग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा योगलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । योगको बढोत्तरी आवश्यक रहेकाले समयको पालना, अनुशासन र आहारविहारमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सोही कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदीले मानसिक र शारिरीक स्वास्थ्यका लागि नियमित रुपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका प्रमुख आयुर्वेद चिकित्सक डाक्टर कमलराज अधिकारीले पछिल्लो समय शारिरीक श्रमको कमी, नियमित व्यायाम नगर्नु र खानपानमा ध्यान नदिँदा नसर्ने रोगहरुको जोखिम बढेकाले नियमित योगलगायत कार्यहरु गर्न सुझाव दिए ।
कार्यक्रममा नवीन आनन्द योग केन्द्रका योग सादगी सन्दीप खत्री र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँले मन्तव्य व्यक्त गरेका थिए । आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अधिकारीको अध्यक्षता र कविराज निरीक्षक दामोदर शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वैद्य निरीक्षक प्रेमप्रसाद गौतमले स्वागत गरेका थिए ।
म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको विशेष उपस्थिति रहेको कार्यक्रममा योगको अभ्यास, यसका विधि र तरिकाहरुको प्रयोगात्मक अभ्यासको साथमा योग सादगीहरुबाट गीतसङ्गीत र नृत्य प्रस्तुतहरु भएको थियो । म्याग्दीको सदरमुकाम बेनीबजार, तातोपानी, दरबाङलगायत क्षेत्रमा नियमित रुपमा योगसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
वि.सं. २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । यसअघि २०३६ सालदेखि उत्तरायण सुरू हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो । स्वास्थ्यलाभ र मानसिक शान्तिका लागि योग अभ्यास गर्नेहरुको सङ्ख्या अहिले दिनप्रतिदिन बढ्दै जान थालेको छ ।
परापूर्वकालमा पनि योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमको रूपमा लिने गरिन्थ्यो । तर, समयको क्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपन जस्ता दीर्घ रोगहरुबाट बच्न सहयोग पु¥याउने योगका जानकारहरु बताउँछन् ।
योग गर्दा सम्पूर्ण शरिरको रगत सञ्चालन सक्रियसँगै शरिरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरिरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा कक्षाहरु सञ्चालन भैरहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।