खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफी खेती प्रवद्र्नतर्फ जोड दिएको छ । नगरपालिकाले ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय कृषकलाई रोजगारी सिर्जना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रमतर्फ जोड दिएको हो ।
नगरपालिकाले सुरुवात गरेको योजना सफल बनाउन यस वर्ष वडा नम्बर–६ नेर्पामा १२ लाख तथा वडा नम्बर–१४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किरहेका छन् ।
कफीको बीउ बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको थियो । पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन् ।
हुर्कँदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई वितरण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताउनुभयो । उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुने गरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको लगानीमा स्थापना नर्सरीको लागि जग्गा, पाइप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिक लगायत व्यवस्थापन गरेर अहिलेसम्म २० लाख रुपैयाँ खर्च भइसकेको छ । नर्सरीमा उमारिएका कफीका बेर्ना १५ महिनादेखि १८ महिनापछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जनाउनुभयो ।
किसानको २५ जनाको समूह बनाएर कर्फीको बिरुवा वितरण गर्ने योजना रहेको छ । नर्सरीमा उत्पादित कफीका बिरुवा व्यक्तिगत रूपमा चाहिने किसानलाई पनि उपलब्ध गराइने उल्लेख छ । गत वर्ष नगरपालिकाले ४२ हजार ४ सय २० वटा बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियौँ । त्यसमा नौँ लाख १२ हजार ३० लागेको थियो । त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ ।
कफी प्रवर्द्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको हो । कफी उत्पादन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब रुपैयाँ रकम भित्रिने आँकलन गरिएको उपप्रमुख विशन राईले बताउनुभयो ।
समुद्री सतहबाट ८ सय देखि एक हजार ६ सय मिटरको उचाइमा कफी खेती उपयुक्त मानिन्छ । जस अनुरूप नगरपालिकाको अधिकांश भेगमा कफी उत्पादन हुने अनुमान छ । कफीको व्यावसायिक खेती प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष कफी प्रशोधन केन्द्रसमेत स्थापना गर्ने गरी अध्ययन भइरहेको उपप्रमुख राईले जानकारी दिनुभयो ।
नगरपालिकाले गरेको अध्ययन अनुसार नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउने सकिने क्षेत्र रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।