हेटौंडा ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।
भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि जाँदा ब्यहोर्नुपरेका समस्या समाधानबारे नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ ।
पूर्वगृह राज्यमन्त्रीसमेत रहनुभएका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरेका व्यवसायीको उपचार, दुर्घटनामा घाइते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य वीमा प्रक्रियाबारे राजदुत शर्मासँग छलफल गर्नुभयो ।
भारतका लागि नेपाली राजदुत डा. शर्माले दुई देशबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको र केही समस्या परे राजदुतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गर्दै नेपाली व्यवसायीहरुका समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक समन्वय गर्ने बताउनुभयो ।
राजदुतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत बिरामीका आफन्त तथा व्यवसायीहरुको सहभागिता थियो । यसअघि नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत् नेपाली बिरामी तथा आफन्तलाई भेटेर उपचारमा परेका कठिनाइबारे बुझ्दै समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावाससँग छलफल तथा समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।