हेटौंडा ।
हेटौंडा–१ ले शुक्रबार वडालाई नगरको बिकट रहे पनि आफ्नो सुन्दर क्षेत्र नकौलीबाट बालमैत्री घोषणा गरेको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासाथ नकौली आधारभुत स्वास्थ्य केन्द्र, बाँझोडाँडापरिसरमा निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । वडा अध्यक्ष न्यौपानेले वडाको प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको जानकारी दिनुभयो ।
बालबचाऊ, बालसंरक्षण, बालविकास, बालसहभागिताका साथै यसका लागि संस्थागत विकासमा समेत गरेर ५१ वटा सूचक पूरा गरिएको उहाँले बताउनुभयो । ५१ वटा सूचकमध्ये ४७ वटा सूचकमा सतप्रतिशत, १ वटा सूचकमा ९६ प्रतिशत र १ वटा सूचकमा ९० प्रतिशत, १ वटा सूचकमा ८५ प्रतिशत र १ वटा सूचकमा ८२ प्रतिशत सूचक हासिल गरिएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । उक्त वडा पूर्णखोपयुक्त घोषणा, पूर्णसाक्षर घोषणा, खुला दिसामुक्त वडा घोषणा भइसकेको छ ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार वडामा १८ वर्षभन्दा कम उमेरका १ हजार ४५ बालक र ९ सय ६९ बालिका गरी २ हजार १४ बालबालिका छन् । वडामा ५ सामुदायिक र १ संस्थागत बालविकास केन्द्रसहित ६ विद्यालय सञ्चालनमा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
वडामा १८ वटा बालसमूह र १ बालसञ्जाल छन् । जसमा ३ सय ६३ बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा गरेर ४ सय ४ बालबालिका प्रत्यक्ष सहभागी रहेको उहाँको भनाइ छ । वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूह, बालसमूह सञ्जाल, टोलविकास संस्थाहरु, युवा क्लब, आमा समूहका साथै विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् ।
नगर प्रमुख लामाले २०८७ सालसम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तहका रुपमा घोषणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो । साँस्कृतिकसमेत रहेको सभामा उपमेयर राजेश बानियाँ, जनप्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियोे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।