बुटवल ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले धेरै गृहकार्य गरेर सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।
अध्यादेश ल्याउनुमा कांग्रेसको टिमबाट प्रतिनिधित्व गर्ने नेताहरुले पर्याप्त गृहकार्य गरेको र विज्ञहरुको परामर्श तथा सुझावबाट ल्याएको जानकारी उहाँले दिनुभयो । पार्टी निकट पूर्व आप्रवासी समन्वय अभियान लुम्बिनी प्रदेश स्तरीय भेलामा खड्काले उद्योग र अर्थतन्त्रमा तत्काल उपलब्ध हुनुपर्ने सुविधाहरू प्रदान गर्न अध्यादेश आएको बताउनुभयो ।
खड्काले कांग्रेसमा पुरानो संस्कार र आत्मीयता फर्काउन आवश्यक रहेको बताउनुभयो । अहिलेको समयको माग अनुसार देशको नेतृत्व नै अवसर कांग्रेसको जिम्मामा आएको उहाँको भनाइ छ । कांग्रेसको सरकारका पालामा भएका नीतिगत निर्णयले देशमा परिवर्तन भएको खड्काले बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले आप्रवासीहरू देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । उहाँले कांग्रेसको हरेक तहमा पूर्वआप्रबासीहरुको पनि प्रतिनिधित्व आवश्यक भएको उल्लेख गर्नुभयो ।आप्रवासीहरूको सिप ज्ञान र पूँजीलाई आत्मसाथ गरी उनीहरूलाई राजनीतीमा समेत प्राथमिकता दिन सुझाव दिनु भयो ।
अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले विदेश जानेसँगै फर्केर आउने क्रम पनि चलेको बताउनुभयो । उहाँले आप्रवासीहरूको सिपलाई देश विकासमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
पूर्व आप्रवासी समन्वय अभियान लुम्बिनी प्रदेशका अध्यक्ष यदुनाथ पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य निमा गिरि, कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना, रुपन्देही जिल्ला अध्यक्ष रामकृष्ण खाँण दिनेश कोइराला सुनिता कुवर जिसी चित्र केसी र सुवास लोहनी लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो । भेला दुई दिन सम्म सञ्चालन हुने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।