
काठमाडौँ।
भन्सार छलेर नेपाल ल्याई अवैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार छापा मारेर बरामद गरेको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूई तलामा अवैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र बीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उक्त्त सामानहरु बरामद गरेको हो ।
गोदाम गरी राखिएको सामान सीमा इलाकाबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ ।
बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।