काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभएर सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि रहेको बताएका छन् ।
बुधबार सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री लेखकले सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गरेका छन्।
‘नेपाल सरकार विधिको शासन बलियो बनाउने र समतामूलक समाज निर्माण गर्ने दिशामा निरन्तर अग्रसर छ। सहिद परिवारहरूको सम्मान र हितमा सरकार सँधै प्रतिबद्ध छ। सहिदहरूले देखाएको मार्गबाट हामीले समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ’, गृहमन्त्री लेखकले भनेका छन्।
गृहमन्त्री लेखकले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिएका सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्।
‘सम्पूर्ण सहिदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको बलिदानलाई सार्थक बनाउने प्रण गर्दछु’, गृहमन्त्री लेखकले भनेका छन्, ‘सहिद दिवस २०८१ ले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, मान्यता र सुशासन प्रवर्द्धन गर्न थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको छु।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।