
काठमाडौं ।
आफ्नो कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारीमा रहनुभएका राष्ट्र संघका लागि लेबनानमा कार्यरत डेपुटी फोर्स कमान्डर उपरथी चोकबहादुर ढकालमाथि आक्रमण हुँदा घाइते हुनुभएको छ ।
युनिफिल मिसनको आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन लेबनानको राजधानी बेरुतमा रहेको बेरुत रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको बेला उहाँ चढेको सवारीमाथि भीषण आक्रमण भएको थियो । यूएन मिसनबाट बिदाइ भएर नेपाल फर्कने क्रममा कन्भोयलाई प्रर्दशनकारीले रोकेर उपरथी ढकाल चढेको सवारी तोडफोड गर्नुका साथै आगो लगाइदिएका थिए ।
विमानस्थलमा बिदाइका लागि गएका ४ नेपाली शान्ति सैनिकसमेत घाइते भएका छन् । घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उपरथी ढकालको भने बेरुतस्थित लेभल थ्री अस्पतालमा उपचार भइरहेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो ।
उपरथी ढकालको टाउकोमा चोट लागेको छ । ‘उहाँ अहिले खतरामुक्त रहनुभएको र केही दिनको उपचारपछि नेपाल फर्कनुहुने छ ।’ सैनिक प्रवक्ता केसीले भन्नुभयो । घटनास्थलमा भएको भिडियो फुटेज अहिले विश्वका विभिन्न सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
उपरथी ढकाल आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको बेला उक्त घटना भएको थियो । घटनालगत्तै लेबनानको सेनाले प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । अहिले त्यहाँको सेनाले उक्त घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजतलास जारी राखेको छ ।
उक्त आक्रमणमा लेबनानको सिया इस्लामिक राजनीतिक पार्टी तथा लडाकु समूह हिजबुल्लाको संलग्नता रहेको आशंका गरिएको छ । सो समूहलाई केही इस्लामिक देशबाहेक अन्य देशले भने आतंककारी संगठनको रूपमा चित्रण गर्ने गरेको पाइन्छ । इजरायलले भने उक्त संगठनलाई आफ्नो प्रमुख सुरक्षा चुनौतीको रूपमा लिएको छ । घटना सार्वजनिक भएपछि युनिफिल मिसन हेडक्वार्टरले दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।
शान्ति सैनिकमाथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरेको छ । घटनाको भत्र्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति-समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
लेबनानी सेनाका कायममुकायम सेना प्रमुख मेजर जनरल हसन उद्दाले युनिफिल मिसनका कमान्डरलाई सम्पर्क गरी उक्त घटनामा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउने भन्दै शान्ति मिसनमाथि भएको आक्रमणको भत्र्सना गर्नुभएको छ । लेबनानी सेनाले जारी गरेको विज्ञप्तिमा ‘मिसन कमान्डरसँग कुराकानीका क्रममा शान्ति सैनिकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरेर घाइतेहरूलाई न्याय दिने बताउनुभएको उल्लेख छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।