
म्याग्दी।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।
उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।