काठमाडौं
तनहुँको दमौलीमा आनन्दालय वेलनेस एकेडेमी संचालनमा आउने भएको छ । स्थानीय व्यवसायी माधव घिमिरेको १ सय ५५ रोपनी जमिनमा विस्तारित आनन्दालय रिसोर्टमा यो वेलनेस एकेडेमी संचालन हुने भएको छ ।
आनन्दालयले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । आनन्दालय वेलनेस एकेडेमीका कार्यकारी निर्देशक विजय मिश्रका अनुसार एकेडेमी सञ्चालनका लागि थाइल्याण्डको महिडोल विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यकारी निर्देशक मिश्रले यो एकेडेमीले महिडोल विश्वविद्यालयको भारत अध्ययन, रिसर्च इन्स्टिच्युट फर ल्याङ्ग्वेज अफ एसियासँग मिलेर योगा, आयुर्वेद र वेलनेसमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्य राखेको बताए ।

पत्रकार सम्मेलनमा महिडोल विश्वविद्यालयका योगा तथा आयुर्वेद विभागका समन्वयकर्ता प्राध्यापक डा. आद्रिश ब्रम्हादत्तले दमौलीमा छिट्टै नै अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमसहित शैक्षिक सत्र शुरु गरिने जानकारी दिंदै आनन्दालयलाई अन्तर्राष्ट्रिय स्तरको वेलनेस तालिम केन्द्रको रुपमा विकास गरिने जानकारी दिए।
उनले यस एकेडेमीमा अध्ययन गरेर युवाहरुले स्पा, फिटनेस स्कुल तथा क्लब, योगा, आयुर्वेद, ध्यान, शरीर शुद्धिकरणलगायतका क्षेत्रलाई आफ्नो पेशाको रुपमा अघि बढाउन सक्ने जिकिर गर्दै भने–“ अहिले विश्वव्यापी रुपमा नै वेलनेसतर्फ मानिसहरुको झुकान बढ्दै गएको छ । सोच, शरीर र आत्माको प्राकृतिक सन्तुलनबाट जीवनलाई खुशी तथा सुखी राख्न योगाको महत्वलाई विश्वभरि नै आत्मसात् गर्न थालिएको छ । यो विषय व्यक्तिगत रुपमा जति लाभदायक छ, समस्त मानव कल्याणको लागि पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले नेपाली युवाहरुले पनि यो एकेडेमीबाट फाइदा उठाओस् भन्ने हामी चाहन्छौं ।”
कार्यकारी निर्देशक मिश्रका अनुसार यो एकेडेमीलाई निकट भविष्यमा काठमाडौंमा पनि विस्तार गरिनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।