
मुगु ।
नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार, विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँचपछि चिकित्सकले शरीरमा अक्सिजनको कमी रहेकाले अस्पतालमै बस्न आग्रह गरेको तर उनले नमानेको अस्पतालले जनाएको छ ।
चेकजाँचपछि उनी सल्लेरी फर्किएका थिए । सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।
उनका अनुसार, भुवनमा मोटोपन थियो । उनी दमको पनि दीर्घरोगी थिए । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीका कारण लेक लागेर काडियो प्रमोनरी एरेस्ट हुँदा उनको मृत्यु भएको चिकित्सक शाहीले बताए ।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।