
बुटवल।
बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जनाको अल्पकालीन भिक्षु प्रबज्या कार्यक्रम सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेलो चीवर प्रदान गरी अल्पकालीन भिक्षु प्रवज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा मंगलबार कुलपुत्र अल्पकालीन भिक्षु गराइएको हो । संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदुतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै थाईल्याण्ड सहकार्य गर्न सधैँ तयार रहेको बताए । उनले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको बताए । समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । उनले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाई समेत दिए । उपाध्यक्ष डा. लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रवज्यामा रहेकाहरुले जीवनको महत्त्वपूर्ण इतिहासमा रेकर्ड गराउन सफल भएको बताए ।
यसैगरी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरुको आवश्यकता पर्ने बताउँदै त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताए। अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ । फागुन १४ गतेदेखि सुरु भएको प्रवज्यामा फागुन १६ गते ललितपुर स्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए ।
मंगलबार पहेलो चीवर लगाउन योग्य भएकाहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउदा निकै खुशी लागेको बताएका छन् ।
लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।