
काठमाडौं ।
क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित ६ जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् ।
धादिङको खनियाँवास गाउँपालिका–४का क्रिप्टो कारोबारी रोशन गुरुङबाट १४ लाख रुपियाँ लुट्ने कार्यमा संलग्न रहेका सशस्त्र प्रहरी सहायक हवल्दार केसीको खातामा ७ लाख रुपियाँ भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका अन्य व्यक्तिहरूले भने तीन प्रहरीका लागि भनेर सशस्त्र सहायक हवल्दार केसीले ७ लाख रुपियाँ बुझेको बयान प्रहरीसमक्ष दिएका छन् । क्रिप्टो कारोबारी गुरुङको साथमा रहेको १४ लाख रुपियाँ प्रहरी परिचय पत्र र हत्कडी देखाउँदै लुटिएको थियो ।
यो प्रकरणमा ती प्रहरीका साथै मोरङको सुन्दरहरंैचा नगरपालिका–२४ का कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङको बेलबारीका मनिसकुमार राय पक्राउ परेका छन् । कपिल बस्नेत र संजोक तामाङबाट प्रहरीले १२ लाख १० हजार रुपियाँ बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा क्रिप्टो कारोबारी गुरुङले एक अर्ब ८७ करोड सात लाख १३ हजार एक सय ६२ रुपियाँ कारोबार गरेको खुलेको महाशाखाले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।