बुटवल ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरेका थिए भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।
देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।