
नवलपरासी।
गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशकाे लाईफ लाईन दुम्किबास त्रिवेणी सडक छिट्टै खुल्ने बताएका छन् ।
पाण्डेले भने भारतसंग सिमा जाेडिएकाे गण्डकी प्रदेशकाे एकमात्र भूमि त्रिवेणीधाम र त्यस क्षेत्रका बासिन्दाले विगतमा प्रयोग गर्दै आएको हुलाकी सडक सफा गरेर हलुका सवारी चल्ने बनाइने छ ।
वन वातावरण र वन्यजन्तु मैत्री ठूलाे र पक्की सडक बनाउन पहिला ईआइए र डिपिआरका लागि पनि काम अघि बढेकाे छ। तर, स्थानीयकाे सदरमुकाम सम्मकाे पहुचका लागि अस्थायी रूपमै भए पनि यहाँको बनिबनाउ बाटो सफा पारिने पाण्डेले बताए ।
मुख्यमन्त्री पाण्डेले साे कुरा बुधवार बिहान नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् ।
जिल्ला सदरमुकाम स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालकाे नयाँ भवन उद्घाटन तथा सेवा प्रारम्भ कार्यक्रमका लागि नवलपुर आएका मुख्यमन्त्री पाण्डेले संघीयतासंगै जिल्ला बिभाजनमा परि भवन विहीन बनेकाे पत्रकार महासंघ नवलपुरकाे भवन निर्माण प्रस्तावपत्र ग्रहण गर्दै प्रदेशका तर्फबाट आवश्यक पहलहुने बताए ।
साेही अवसरमा जिल्ला सदरमुकाम निर्माणका क्रममा डिभिजन वन, यातायात लगायतका प्रादेशिक कार्यालयहरूकाे संघीय कार्यालयहरू संगसगै निर्माणका लागि प्रदेशबाट आवश्यक समन्वय भइरहेको जानकारी दिएका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संचारकर्मीहरूकाे जिज्ञासामा प्रदेश सरकारले अघि बढाएका बिकास याेजनाहरूमा सन्तोष जनक ढंगले काम भइरहेको ती याेजनाहरू लक्षित प्रगतिसहित समयमै सम्पन्न हुने जनाए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेका साथ गण्डकी प्रदेश कृषि तथा भूमि याेजना मन्त्री पद्मा जिसी श्रेष्ठ,पूर्व मन्त्री महेन्द्रध्वज जिसी,प्रदेश सांसद विन्दु पाैडेल लगायतको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।