
म्याग्दी ।
म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधवारदेखि तोरन्लह पर्व अर्थात् यस वर्षको फागुपूर्णिमा मनाउन सुरु गरेका छन् । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विविध कार्यक्रमको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासपूर्वक मनाउन लागेको हो ।
फागुपूर्णिमालाई थकाली भाषामा तोरन्लह पर्व भनेर चिनिन्छ । हिन्दु धर्मावलम्बीहरुले जसरी आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्रद्धा गर्ने गर्दछन् । त्यसैगरी थकाली समुदायले पनि फागुपूर्णिमा पर्वको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड मनाउने चलन रहेको छ । म्याग्दीमा सदरमुकाम बेनीबजारसहित दाना, भूरुङ–तातोपानी, पश्चिमको दरबाङलगायत क्षेत्रमा गरी कुल १ सय १५ घरधुरी थकाली समुदायको बसोबास छ ।
आदिवासी जनजातिभित्र पनि थोरै सङ्ख्यामा थकाली समुदाय रहेका छन् । यसैगरी नेपालमा १९ क्षेत्र र विदेशको अस्टेलिया, हङकङ र अमेरिकामा एकएक क्षेत्र रहको थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले जनाएको छ । फागुपूर्णिमा पर्वको अवसर पारी थकाली समुदायमा अत्यन्त लोकप्रिय मानिने तारो हान्ने खेल (धनुषवाण) प्रतियोगिता, भेषभूषा प्रदर्शनी र नाचगानलगायत कार्यक्रमहरु आयोजना गरिएको छ । सबैसँग मिलेर बस्न सक्ने र मीठो–मीठो खानाका साथै विभिन्न परिकारहरु बनाउन सक्ने सिप, कौशल र विशेषता थकाली समुदायमा पाइन्छ ।
देशभर २५ हजार जनसङ्ख्या रहेको थकाली समुदायलाई सरकारले अल्पसङ्ख्यक समुदायको सुचीमा राखेको छ । थकाली समुदायले तोरल्न पर्वको अवसरमा दिवङ्गत भएका पितृहरुको सम्झना गर्दै आफ्ना छोरीज्वाँई, भान्जाभान्जी, आफन्तजन र नातापाताहरुलाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने र रमाइलो गरी पर्व मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो ।
तोरल्न पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कला, संस्कृतिको संरक्षणमा थकाली समुदायको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले थकाली समुदाय सङ्ख्यामा थोरै भए पनि थकाली खानाका परिकारहरु ब्राण्ड बनेकोमा प्रशंसा गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।