उदयपुर ।
उदयपुर जिल्लामा “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान कार्यक्रमको शुभारम्भ भएको छ ।
त्रियुगा नगरपालिकाको सहकार्य एवं जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा नं। ११ स्थित बरुवाटार टोलमा आज फागुन २९ गते शुक्रबार देखि लागूऔषध विरुद्धको लडाई ( एफएएन ) कार्यक्रमको शुभारम्भ भएको हो ।
टोल विकास समन्वय समित वडा नं. ११ का अध्यक्ष राम बस्नेतको अध्यक्षता, त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता, उपप्रमुख महेश्वरी राईको विशेष आतिथ्यता साथै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगी, प्रहरी नायब उपरीक्षक केदारमान दोङ, त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईराला, जनप्रतिनिधीहरु, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, शिक्षक, नागरिक समाज, संचारकर्मी, अभिभावक, प्रहरी कर्मचारी, एफएएन क्लवका पदाधिकारीहरु तथा स्थानीय बासीहरुको उपस्थितिमा कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले दुर्व्यसन विरुद्धको अभियान ‘एफएएन’ को ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिले लागूऔषधको दुव्र्यसनले हाम्रो समाज ग्रसित रहेको र आजबाट सुरु भएको यस लागूऔषध विरुद्धको अभियानले लागू औषध मुक्त समाज निर्माणमा उल्लेख्य भूमिका खेल्ने बताउँदै यस अभियानलाई सफल बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, दुर्व्यसन विरुद्धका अभियन्ताहरु सबै मिलेर सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले किशोर अवस्थाका बालबालिकाहरु लागूऔषधको दुव्र्यवसनमा फस्ने उच्च जोखिम रहेको बताउनु हुँदै अबको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ गर्दै सबै एक जुट भई अगाडि बढ्न आह्वान गरेकी थिइन् । लागू औषधको जोखिममा रहेका किशोर किशोरीहरुलाई सकारात्मक कृयाकलापमा सहभागिता अभिवृद्दि गर्नका लागि त्यस अनुकुल परिस्थिति निर्माण गर्न त्रियुगा नगरपालिकाको सदैव साथ सहयोग रहने समेत बताइन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले “ एफएएन” अभियानको अवधारणा, लक्ष्य, भावी कार्यदिशा, अपेक्षित उपलब्धी, एफएएन क्लबको मूल रणनीति सहितको शुभकामना सन्देश दिएका थिए । साथै लागू पदार्थको सेवनलाई प्रभावकारी रोकथाम तथा यसको गैरकानूनी उत्पादन, भण्डारण, बिक्री वितरण, ओसार पसारलाई नियन्त्रण गरी लागू औषध मुक्त समाज निर्माणमा सहयोग पुर्याउन सम्पूर्णमा आव्हान समेत गरेका थिए।
कार्यक्रमको शुभारम्भ पश्चात लागू औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण एवं अन्तर्कृयात्मक कार्यक्रम समेत सञ्चालन भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।