धादिङ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० कोटथाप्के स्थित पदमचौर आधारभुत विद्यालय । डाँडाको टाकुमारामा आधारभूत विद्यालय, उत्तर र पूर्वतिर फर्केको भागमा लालिगुँरास फुलिरहेका थिए । दक्षिण र पश्चिमतिर केही बार र फाट्ट फुट्ट घरहरु ।
विद्यालयको अगाडी तरकारी खेती गरिएको थियो । अर्ग्यानिक तरकार विद्यार्थीले खान पाउने छन् । लस्करै मौरकिा घर समेत थियो । विद्यालयले आम्दानीको श्रोत समेत बनाएर मह बिक्री गरेर गत वर्ष १४ किलोग्म मह समेत बिक्री गरेको थियो ।

बिहानको ९ः४५ बजेको थियो । चारतिरको गाउँतिरबाट विद्यार्थीहरु आउँदै थिए । विद्यालय पोसाक र सुकिला झोला किताब बोकेर विद्यालय आएकाहरु केहीले लालिगुराँस समेत टिपेर ल्याएका थिए । विद्यालयको बिहानको टिनिनिनि घण्टी बजेपछि विद्यार्थीहरु आँगनमा लाइन लागे ।
विद्यालयको आँगनमा एकातिर छेउमा पुगेका गाउँपालिका अध्यक्ष कृष्ण थपलिया (विवेक) थिए । संजोकबस हामी पुगेकै बेला विद्यार्थीहरुले लाइन सुरु भएपछि एक जना कक्षा ५ कि बालिकाले गाउँमा एउटा ड्रम बजाएर विद्यार्थीहरुलाई पोजिशनमा लाइन लगाइन् ।
ड्रमको आवाज आइरहेको बेला धुन परिवर्तन संगै विद्यार्थीहरु बिहानी कसरत गरिरहेका थिए । हात उठाउने, टाउको ढाडतिर फर्काउने जस्ता क्रियाकला एक तमासले गाउँपालिका अध्यक्ष र उपस्थित भएका अभिभावकहरु हेरिरहेका थिए । राष्ट्रियगान सकेपछि एउटा अनौठो लाग्ने किसिमको विहानी बौद्धिक प्रश्नहरु लाइनमा बसेका विद्यार्थीहरुलाई सोधिने रहेछ ।
सुरुमा विद्यालयका प्रधानाध्यापक शेषराज अर्यालले “धादिङ जिल्लामा कतिओटा स्थानीय तहहरु रहेका छन् ?” भन्ने प्रश्न गरे ।
यसको उत्तरमा सामुहिक रुपमा विद्यार्थीहरुले १३ ओटा रहेका छन् भन्ने उत्तर दिए ।
हरेक कक्षाका विद्यार्थीहरुले पालैपालो एक एक प्रश्न गर्ने र उत्तर खोज्ने चलन रमाइलो, ज्ञानवर्धक र जानकारीमूलक थियो ।
यसपछि कक्षाकोठामा गएका विद्यार्थीहरुले आफैँ सरसफाइ गर्ने, विद्यालयमा जंक फुड नियन्त्रण गर्ने र कक्षाकोठालाई बालमैत्री बनाएर विद्यालयको कक्षामा बसुँ बसुँ लाग्ने वातावरण बनाइएको थियो ।
कक्षाभित्र प्रशस्त शिक्षण सिकाइका सामाग्री सजाएर राखिएका सरसफाइका सामान र खेलकुदका सामान अनि बालकक्षामा विद्यार्थीलाई निन्द्रा लागेमा सुत्ने खाट र ओछ्यानसमेत राखिएको थियो ।

कक्षा ४ र ५ लाई राखेर पढाइने बहुकक्षा शिषण थियो । गाउँपालिका अध्यक्ष थपलियाले दुई अंकले गुणन गर्ने गणित समेत पढाए । विद्यालयमा सबैभन्दा कमजोर विषय गणित भएकोले यसलाई सुधार गर्नका लागि लाग्ने प्रधानाध्यापक अर्यालले बताए ।
विद्यालयको बारेमा हरेक महिना अभिभावक छलफल गर्ने गर्छन्, बाल क्लबले बैठक बसेर योजना बनाउँछ । विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागि हुने गर्छन् । विद्यालय जानका लागि विद्यार्थीहरु मन पराउने गरेकोले यसलाई अझै सुधार गर्दै लैजान विद्यालयका अभिभावक आशा थापामगरले बताए ।
गाउँपालिका अध्यक्ष थपलियाले विद्यालयमा पुगेर छलफलपछि घरलाई माया गरेजसरी विद्यालयलाई माया गर्न अभिभावकहरुलाई आग्रह गर्दै बेनिघाटरोराङ गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षा भएकोले कुनैपनि विद्यार्थी खान लाउन नपाएर विद्यालय आउन नपाउने अवस्था नहुने प्रतिबद्धता व्यक्त गरे ।

प्रयास नेपालले चाइल्डफण्ड जापानको सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको १९ विद्यालयका २ हजारभन्दा बढी विद्यार्थीहरुलाई समेटेर शिक्षामा पहुँच सुनिश्चितता कार्यक्रम सञ्चालन गरेपछि यस्तो परिवर्तन आएको गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए ।
केही विद्यालयमा सुधार गर्दै बालअधिकार सुनिश्चितता गर्नु आवश्यक रहेको र आगामी वर्ष स्थानीय सरकारको आग्रह अनुसार परियोजना सञ्चालन गरिने प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।