
खोटाङ।
खोटाङमा लागेको डढेलोले एक विद्यालयसहित ७ घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो सोमबार बस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ७ घर जलेको हो ।
बाल्सीखोला सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा नगेन्द्र राई, हिरासेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई, हिराधन राई र अडमे राईको घर जलेको छ । आगलागीबाट अडमेको पशुचौपाय समेत जलेर मरेको हलेसी तुवाचुङ नगरपालिका–२ का वडाध्यक्ष देबेन्द्र राईले बताए । डढेलोले बालकन्या आधारभुत बिद्यालयमा पनि क्षति पु¥याएको वडाध्यक्ष राईले जनाए । विद्यालयको काठबाट बनाइएको दुईकोठे भवनको कार्यालय रहेको कोठा जलेको बताइएको छ ।
बस्तीका अन्य घरहरु पनि जोखिममा परेको स्थानीयले जनाएको छ । चैत्र–३ गते आइतबार नगरपालिकाको दाम्लीबाट डढेलो सुरु भएको थियो ।डढेलो फैलिएर दाम्लीखोला पार गरेपछि बस्तीतिर पसेको हो । क्षतिको बृस्तित विवरण आउन बाँकी रहेको वडाध्यक्ष राईको भनाई छ । सुरक्षा निकाय, नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि तथा स्थानीयले डढेलो निभाउने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन । यसअघि फागुन महिनामै हलेसी बजारमा आगलागीबाट चार घर जलेर नष्ट भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।