
बाँके ।
नेपालकै पुरानोमध्येको भेरी अस्पताल, नेपालगञ्जमा अब अप्रेसन गरेका बिरामीलाई एकै वार्डमा बस्नु नपर्ने भएको छ । विभिन्न रोगका अप्रेसन गरेका बिरामीलाई एकै ठाउँमा राख्दा इन्फेक्सन हुने जोखिम रहन्छ । भेरीले अहिले रोगको प्रकृतिअनुसार अप्रेसन गरेका बिरामीलाई छुट्टाछुट्टै वार्डको व्यवस्था गरेको छ ।
यस्ता वार्ड थप्दा भेरी अस्पतालमा २ सय ८४ बेडसंख्या पुगेको छ । अझै केही बेड थप्ने तयारी गरिएको छ । यसो गर्दा भेरीमा तीन सय बढी बेड हुने देखिएको छ । सरकारले भने सय बेडकै हिसाबले सुविधा दिने गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार, दश श्ययाको आइसीयू बनाइएको छ । त्यहाँ मेडिकल र सर्जिकल छुट्याइएको छ । सीसीयू छुट्टै छ । पोस्ट अपरेटिभ दुई वटा वार्डमा छ । सर्जिकल वार्ड ३४ बेडको छ ।
मेसु डा. सुवेदीले अप्रेसन गरेका बिरामीलाई एकै ठाउँमा राख्दा संक्रमण हुने जोखिम रहेकाले छुट्टाछुट्टै वार्डको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार, जलेका बिरामीका लागि छुट्टै वर्न वार्ड सञ्चालनमा ल्याइएको छ । त्यसका लागि नर्सिङ कर्मचारी भर्ना गरिसकिएको छ । सर्जनको व्यवस्था गरिएको छ ।
भेरी अस्पतालमा जलेका बिरामीका लागि खासै उपचारको व्यवस्था थिएन । १०–१५ प्रतिशत जलेका बिरामीलाई पनि सामान्य प्राथमिक उपचार गरेर बाहिर पठाउने गरिन्थ्यो । छुट्टै वार्ड र जनशक्ति परिचालन गरिएकाले अब जलेका बिरामीको यहीँ उपचार हुने भएको छ । यो पनि भेरीमा थपिएको नयाँ सुविधा हो ।
‘भर्खरै छुट्टै वर्न वार्डको व्यवस्था गरिएको छ । अहिलेसम्म कोही पनि बिरामीको उपचार भइसकेको छैन, वर्न वार्ड देखाउँदै मेसु डा. सुवेदीले भन्नुभयो, अब हामीले १०–१५ प्रतिशतसम्म जलेका बिरामीलाई यहीँ उपचार गर्छौं । बाहिर पठाउनु पर्दैन ।’ जलेका बिरामी संवेदनशील हुन्छन् । बाहिर सामान्यजस्तो देखिए पनि भित्रभित्र बाफिएका हुन्छन् । यसअघि भेरीले जलेका बिरामी आउनेबित्तिकै पट्टी बाँधेर बाहिर पठाइदिने गर्दथ्यो । भेरीबाट काठमाडौंको वीर अस्पतालमा रिफर गरेका कतिपय बिरामीको पट्टी पनि राम्ररी नबाँधेको देखेर त्यहाँका डाक्टर रिसाएको घटना चर्चामा रहेको छ ।
साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्लाको रिफरल सेन्टर मानिने भेरीमा सुविधा थपिँदै गए पनि आठ महिनाबढीदेखि बिग्रिएको सिटीस्क्यान नबन्दा सबै राम्रा काम ओझेलमा पर्ने गरेको छ । टाढा टाढाबाट आएका बिरामी सिटीस्क्यान गर्न बाहिर जानुपर्ने बाध्यता छ । बिरामीको बाध्यतालाई अस्पताल प्रशासकले बुझेका पनि छन् । तर, के गर्नु ? जति नै ताकेता गरे पनि पैसा नआएपछि सिटीस्क्यान मेसिन बन्न सकेको छैन ।
अहिलेका मेसु डा. सुवेदी आउनुअघिका मेसुहरूले निरन्तर सिटीस्क्यान मेसिन पत्राचार गरेका थिए । बीचबीचमा बन्ने सिटीस्क्यान अहिले लगातार आठ महिनाबढीदेखि बिग्रिएर थन्किएको छ । सिटीस्क्यान मेसिनको ट्युब बिग्रिएको छ । यसलाई बनाउन एक करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । १३ वर्ष पुरानो सिटीस्क्यान १६ सलाइसको हो । जबकि सय बेड माथिका अस्पतालमा अनिवार्य रूपमा १२८ सलाइसको सिटीस्क्यान मेसिन राख्नु पर्छ ।
मेसु डा. सुवेदीले सिटीस्क्यान गर्नुपर्ने बिरामी महिनामा पाँच सय हाराहारीमा हुने बताउनुभयो । गएको शुक्रवार र शनिवार जयेन्दु बालसुधार गृहमा भएको झडपका बिरामीलाई भेरी अस्पतालमा ल्याइएको थियो । सिटीस्क्यान मेसिन नभएपछि बिरामीलाई अन्यत्रबाट सिटीस्क्यान गराइयो । भेरीले ७ देखि १० करोड रुपिया नयाँ १२८ सलाइसको सिटीस्क्यान मेसिन खरिद गरिदिन पनि पत्राचार गरेको छ । कतैबाट सुनुवाइ भएको छैन । नेपालगञ्जमा आइपुग्ने स्वास्थ्यमन्त्री होस् या सचिव, सिटीस्क्यान मेसिन तत्काल सञ्चालन गर्न निर्देशन दिने गर्दछन् । यहाँ आउँदा काम गर्नेजस्तो गर्ने उनीहरूले काठमाडौं पुगेपछि सबै बिर्सिने गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।