
काठमाडौं ।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको मतपरिणाम आउन शुरू भएको छ । चैत ५ गते सम्पन्न निर्वाचनको मंगलवार मध्यरातबाट नतिजा आउन शुरू भएको हो । निर्वाचनमा नेपाल विद्यार्थी संघले हालसम्म ७ आंगिकसहित करिब १०० वटा सम्बन्धन प्राप्त क्याम्पसमा सभापति जित्ने दाबी गरेको छ । नेविसंले उपत्यकाका थापाथली इन्जिनियरिङ, आयुर्वेद, महाराजगञ्ज नर्सिङ, महाराजगञ्ज मेडिकलसहित, महेन्द्र बहुमुखी दाङ, वनविज्ञान अध्ययन संस्थान हेटौंडा र डडेल्धुरा बहुमुखी क्याम्पसमा जित हात पारेको छ ।
एमाले निकट अनेरास्ववियुले आफ्नो अग्रता कायमै राखेको दाबी गरेको छ । कसले बढी क्याम्पसमा जित हात पारे भन्ने विषयमा अन्योल छ । तीनै संगठनले सार्वजनिक गरेको सूचीअनुसार नेविसंघ २ आंगिकसहित ९९, अनेरास्ववियु १२ आंगिकसहित ९२ र अनेरास्ववियु (क्रान्तिकारी) ले ७ आंगिकसहित ६५ सम्बन्धनप्राप्त क्याम्पसमा विजय हासिल गरेको छ । तीन संगठनमध्ये केहीले गठबन्धन र अधिकांशले एकल प्रतिस्पर्धा गरेका छन् ।
निर्वाचन सम्पन्न भएका ४० आंगिक क्याम्पसमध्ये अनेरास्ववियुले १२ सहित सम्बन्धन प्राप्त ७२ गरी ९२ क्याम्पसमा सभापति पदमा विजय हासिल गरेको छ । अनेरास्ववियुका नेता प्रकाश पौडेलका अनुसार आंगिकतर्फ महेन्द्र बहुमुखी क्याम्पस इलाम, धनकुटा बहुमुखी, महेन्द्ररत्न ताहाचल, हेटौंडा क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, वन विज्ञान पोखरा, नर्सिङ पोखरा, महेन्द्र बहुमुखी नेपालगञ्ज, जुम्ला क्याम्पस जुम्ला, ललितकला क्याम्पस, नेपालगञ्ज नर्सिङ र धवलागिरि क्याम्पस बागलुङमा अध्यक्ष निर्वाचित भएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) ले आंगिक क्याम्पसमध्ये ७ सहित ६५ क्याम्पसमा सभापति हात पारेको छ । क्रान्तिकारीले दुई वर्षअघिको निर्वाचनको तुलनामा यो वर्ष आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या बढाएको छ । क्रान्तिकारीले स्ववियु सभापति जितेर अघिल्लो निर्वाचनको भन्दा दोब्बर बढी राम्रो नतिजा निकालेको छ ।
सभापति जितेकामध्ये जनप्रशासन र सानोठिमीमा नेविसंघसँगको गठबन्धन थियो भने भोजपुरमा नेकपा एसनिकट समाजवादी लगायतसँग थियो । यसबाहेक साना र निर्विरोध भएकासहित अखिल क्रान्तिकारीले ६५ क्याम्पसमा सभापति जितेको छ । सो संगठनले त्रिभुवन बहुमुखी पाल्पा, जनप्रशासन क्याम्पस, सानोठिमी क्याम्पस भक्तपुर, भोजपुर बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस मोरङ र चितवन इन्जिनियरिङ र विराटनगर नर्सिङमा जित हात पारेको छ ।
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले यो जितले आगामी संसदीय निर्वाचनमा एक्लै लड्ने साहस बढेको टिप्पणी गर्दै भन्नुभयो– ‘स्थगित भएका क्याम्पसमा पनि हाम्रो सम्भावना प्रबल छ ।’ तीनै संगठनले जित्ने दाबी गरेको त्रिवि केन्द्रीय, शंकरदेव, आरआर, पाटन संयुक्त, अमृतसाइन्स, पब्लिक युथ, त्रिचन्द्र, विश्वभाषा, नेपाल ल र सरस्वती क्याम्पस गरी १० वटामा निर्वाचन स्थगित छ ।
निर्वाचन रोक्न उच्चको अन्तरिम आदेश
चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो । यो आदेशसँगै ८ गते निर्वाचन गर्ने तयारी गरेको निर्वाचन समितिले सबै प्रक्रिया रद्ध गरेको छ ।
विश्वविद्यालयलाई विपक्षी बनाई नेविसंघ ईकाइ अध्यक्ष विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधबार वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।
यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूका बीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबीच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतको यो आदेशसँगै निर्वाचन अन्योलमा परेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।