
ललितपुर ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्थानीय तहको कामकाजमा स्थानीय भाषा र लिपिको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
बौद्ध युवा कमिटी ललितपुरले ललितपुर महानगरपालिका–११ को सहकार्यमा मौलिक लिपिको व्यावहारिक प्रयोगको सन्दर्भमा आयोजित प्रचलित नेपाल लिपि र रञ्जना लिपि प्रशिक्षणको समापन समारोहमा उहाँले प्रशिक्षणका सहभागीहरूलाई सो आग्रह गर्नुभएको हो ।
‘लिपि सिकेर प्रमाणपत्र पाउनु तपाईंमा भएको एउटा अतिरिक्त गुण हो । त्यसलाई हुर्काउन आवश्यक छ । इतिहासको अध्ययन, पुराना शिलापत्र, ताम्रपत्र पढ्न लिपिको ज्ञान अत्यन्त आवश्यक हुन्छ । त्यसका लागि स्थानीय तह, वडा कार्यालय लिपिबाट निवेदन दिन पनि सक्नुहुनेछ’ –महानिर्देशक प्रधानाङ्गले भन्नुभयो । उहाँले लिपि सिकेकाहरूलाई उत्साहित बनाउन लिपि लेखन प्रतियोगिता गर्न सकिने सुझाव दिँदै यस कार्यमा तीनवटै तहको सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले लिपिको प्रशिक्षण, प्रयोगका लागि स्थानीय तहलाई सरोकारवालाहरूले घचघच्याउनुपर्नेमा जोड दिनुभयो । लिपि प्रशिक्षक किरण शाक्यले लिपि भनेको संस्कृति, सभ्यताको एउटा महत्वपूर्ण पक्ष रहेकाले त्यसबारे जान्नु र बुझ्न आवश्यक रहेको बताउनुभयो । लिपिको ज्ञानले इतिहास बुझ्नेमात्र नभई प्रत्येक नेपालीले गौरव गर्न सक्ने विषय पनि रहेको प्रशिक्षक शाक्यको भनाइ रहेको छ ।
सो अवसरमा बौद्ध युवा कमिटी ललितपुरका अध्यक्ष सतिश शाक्यले संस्थाले स्थानीय तहसँग सहकार्य गरी स्थापनाकालदेखि नै भाषा, संस्कृति र लिपि युवापुस्तामा हस्तान्तरण गर्न विविध कार्यक्रम गर्दै आएको बताउनुभयो । लिपि पढेका युवावर्गको सक्रियतामा महानगरीय प्रहरी प्रभाग मंगलबजारको साइनबोर्डमा रञ्जना लिपिको प्रयोगसँगै विविध क्षेत्रमा लिपिको प्रयोग बढेको पनि अध्यक्ष शाक्यको कथन रहेको छ ।
ललितपुर महानगरपालिका–११ का वडा सदस्य कृष्ण महर्जन, सचिना परियारले मानव सभ्यताको विकासक्रममा लिपि जन्मिएको उल्लेख गर्दै त्यसको व्यावहारिक प्रयोगमा वडाले गर्दै आएको कामलाई केन्द्रित गरी आ–आफ्नो भनाइ राख्नुभएको थियो । सो अवसरमा सहभागीहरूको तर्फबाट नेपालभाषा शिक्षक रोशनी प्याथं महर्जन र सञ्चारकर्मी पवित्रकुमार महर्जनले लिपिको सिकाइलाई व्यापक बनाउनुपर्नेमा जोडदिनुभयो । गत मंसिर १५ देखि माघ ४ गतेसम्म सञ्चालित प्रचलित नेपाल लिपि र रञ्जना लिपिको प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।