काठमाडौँ।
नेपाल र भारतका व्यवसायी र कलाकारहरुको बाक्लो जमघटसँगै भारतको दिल्लीमा आयोजित नेपाल महोत्सव सम्पन्न भयो। भारतमा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा आयोजित नेपाल महोत्सवमा नेपालका व्यवसायी र कलाकारहरु समेत सहभागी भएका थिए।
एभरेस्ट चेम्बर अफ कमर्सले आयोजनामा भएको महोत्सवमा नेपाली पञ्चेवाजाको धुनसँगै नेपाली परिकार, नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारसँगै नेपालमा लगानी भारतीय लगानी भित्र्याउन अन्तर्संवाद कार्यक्रमहरु आयोजना गरिएको थियो।
महोत्सवमा सहभागीहरुले नेपालको धार्मिक तथा पर्यटन क्षेत्र, नेपाली पञ्चेवाजा र नेपाली परिकारप्रति विशेष रुचि राखेका थिए। महोत्सवमा सहभागी व्यवसायीहरुले नेपालमा लगानी गर्न सकिने क्षेत्रहरुबारे विशेष चासो राखेको आयोजकले जानकारी दिएका छन्।

महोत्सवका लागि भारतमा रहेको नेपाली दूतावासले सहकार्य गरेको थियो। आयोजक एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले नेपाल र भारतबीच व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र अध्यात्ममार्फत नेपाल(भारत सम्बन्ध प्रगाढ बनाउन सफल भएको बताए।
महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा भएको महोत्सवमा नेपाल(भारत व्यापारसम्बन्धी छलफल, बीटुबी र बीटुसी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्रमा दुबै देशका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता थियो।
‘पहिलो पटक आयोजना भएको महोत्सवको उपलब्धीले भारतमा रहेका नेपालीहरु खुसी छन्,’ उनले भने ‘महोत्सवमा सहभागी भएका भारतीय व्यवसायी र धार्मिक पर्यटनप्रति रुचि राख्नेहरुले राखेको चासो देख्दा नेपालमा सकारात्मक प्रभाव पर्ने विश्वास लागेको छ।’

कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, सङ्गीत र सांस्कृतिक प्रस्तुति, खानाप्रेमीका लागि मौलिक नेपाली खाना स्टल, व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्ध, उदीयमान व्यावसायिक लगानी क्षेत्र, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, नेपाल(भारत आर्थिक सहयोगको भविष्यबारे छलफल समेत भएको थियो।

हरेक वर्ष अप्रिल ११ देखि १३ सम्म महोत्सव आयोजना गर्ने क्यालेन्डर नै बनाएको र पहिलो पटक आयोजित महोत्सवको प्रतिक्रियाबाट उत्साहित भएको घिमिरेले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।