धादिङ ।
धुनीबेसी नगरपालिकाको शिक्षा शाखाले तिनजना विषय विज्ञलाई विषयविज्ञबाट हटाएको छ ।
धुनीबेसी नगरपालिका शिक्षा शाखाले सामाजिक विषयका विषय विज्ञ केशव रुपाखेती समेत अन्य दुई जनालाई विषय विज्ञबाट हटाएको हो ।
नगरपालिका स्तरीय परीक्षा समितिले ०८१ चैत ७ गतेदेखि चैत १५ गतेसम्म कक्षा ८ को परीक्षा लिएको थियो ।
सामाजिक अध्ययन र विज्ञान तथा प्रविधि विषयमा प्रश्नपत्र बाहिरिएको र परीक्षा अघि नै धुनीबेसी नगरपालिकाको महादेवस्थान माविले हुबहु पूर्व परीक्षा समेत लिएको पाइएको थियो ।
सामाजिक अध्ययन अन्तरगतको जस्ताको तस्तै प्रश्नपत्र नै पूर्व तयारी परीक्षा समेत लिएको पाइएको छ ।
विज्ञान तथा प्रविधि विषयमा समेत पूर्व तयारी परीक्षामा उही प्रश्न बनाएर पूर्व तयारी परीक्षा लिइएको पाइएकोले छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै ध्यानाकर्षणपत्र समेत बुझाएको शिक्षक कमल केसीले जानकारी दिइन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धुनीबेसी नगरपालिका कमिटि अध्यक्ष केसी र सचिव शोभाकर पौडेलले ०८१ चैत २७ गते धुनीबेसी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखालाई ध्यानाकर्षण पत्र समेत दिइएको थियो ।
प्रश्नपत्र पहिला नै विद्यार्थीलाई दिइएको महादेवस्थान माविको कक्षा ८ मा सहभागी २८ जना विद्यार्थी मध्ये १८ जनामात्र उत्तीर्ण भएको र ११ विद्यार्थी समेत अनुत्तीर्ण भएको धुनीबेसी नगरपालिकाले चैत २९ गते प्रकाशन गरेको कक्षा ८ को नतिजामा उल्लेख छ ।
धुनीबेसी नगरपालिकामा २३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट ५ सय ५६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४ सय ३३ जना उत्तीर्ण र १ सय २३ जना अनुत्तीर्ण भएका छन् ।
२३ वटा सामुदायिक तथा संस्थागत विद्यालय मध्ये जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयले मात्र शतप्रतिशत नतिजा ल्याएको छ । परीक्षामा सहभागी १३ जना नै उत्तीर्ण भएका छन् । यस्तै कालीदेवी आधारभूत विद्यालय गौचरणका ३८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट परीक्षामा १६ जना सहभागी भएकोमा ६ जना मात्र उत्तीर्ण भएका हुन् ।
समग्रमा संस्थागत विद्यालयको नतिजा भने राम्रो छ । शान्तिदिप बोर्डिङ स्कुलका ९८ प्रतिशत, धुनिवेशी आवासिय वोर्डिङ स्कुलका ९३ प्रतिशत डियरवाक धादिङ स्कुलका ८८ प्रतिशत र गुडस्टार्ट बोर्डिङ स्कुलका ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
विषय विज्ञ बनेर प्रश्न पत्र निकाल्ने र आफ्नो विद्यालयमा पहिला नै पूर्व तयारी परीक्षा हुबहु प्रश्न बनाएर लिइएको प्रमाण अन्य विद्यालयका शिक्षकहरुले संकलन गरेर नेपाल समाचारपत्रलाई उपलब्ध गराएका छन् ।
शिक्षक आचरण र नैतिकता गुमाएका शिक्षकहरुलाई छानबिन गरी कारबाही गर्न शिक्षकका पेशागत संगठनहरुले समेत माग गरेका छन् ।
घटनाका सम्बन्धमा धुनीबेसी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर भुवाजी ले विषय विज्ञ भएर गडबढी गरेको जानकारी आएकोले तिन जनालाई विषय विज्ञबाट हटाइएको जानकारी दिए । नगरपालिकाको तर्फबाट विषय विज्ञ भएर बनाएको प्रश्नपत्र आफैँले आफ्नो विद्यालयमा हुबहु पूर्व परीक्षा लिएर हटाइएका अन्य विषय विज्ञको नाम भने सार्वजनिक गर्न नमिल्ने बताउँदै समाचार नलेख्न समेत आग्रह गरे ।
धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा नगरपालिकामा जानकारीसहित ध्यानाकर्षणपत्र आएको र आफूले गडबढी गर्नेलाई कानुन बमोजिम कारबाही गर्न शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखलाई निर्देशन गरेर आफू चिन भ्रमणमा गएको बताएका छन् । के कारबाही र घटना के भएको छ भन्ने अन्य जानकारी नभएको आचार्यको भनाइ छ ।



यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।