जनकपुरधाम ।
भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शन र पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको हो ।
आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ ।
विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो । ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै शान्तिपूर्ण तर आक्रोशपूर्ण रुपमा सडकमा उत्रिएका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल–भारत खुला सीमा संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरेका थिए भने प्रमुख अतिथि संस्थाका अध्यक्ष डा.राजीव झा रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, संजय चौधरी, संजय सिह, राम जीवन साह, अभियानी चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रमुख सहभागीहरूमा पूर्वजिसस उपप्रमुख दिपक झा, जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर –३ वार्ड अध्यक्ष दिपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्ण कुमार साह लगायत थिए ।
कार्यक्रममा हिन्दू तथा मुस्लिम समुदायका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिँदै पाकिस्तान र आतंकवादका विरुद्ध एकजुट भएर आवाज उठाएका थिए । कार्यक्रम संयोजकद्वारा यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पहल गरिने प्रतिबद्धता पनि जनाइएको थियो ।

नेपाल–भारत खुला सीमा संवाद समूहले आगामी दिनहरूमा पनि सीमा सुरक्षाको विषयमा जनस्तरबाट आवाज उठाउँदै पीडितको न्यायका लागि निरन्तर संघर्ष गरिरहने बताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।