
बुटवल।
उखरमाउलोे घाम होस् वा कठाग्रिने जाडो ,उलदो वर्षामा भिज्दै र प्राकृतिक मौसमसँग मुकावला गदै सडक पेटीमा व्यापार गर्नु कसैका लागि पनि सहज छैन । त्यसैमाथि बेलाबेलामा नगर प्रहरीले सडक क्षेत्र खोसियो भनेर लखेट्ने कार्यले आजित हुन्छन् सडक पेटीमा व्यापार गर्नेहरु । सबैतिरबाट अपहेलित बुटवलका सडक व्यापार गर्ने महिलामा बुधवार भने खुसीछाएको देखियो। बुटवल उपमहानगरपालिकाले सडकमा बसेर मकै पोल्ने, पात बेच्ने र ईरिक्सा चलाउने श्रमिक महिलालाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्व सन्द्यामा सम्मान गरेपछि उनीहरुमा त्यो खुसी देखिएको हो ।
बुटवलमा पछिल्लो समयमा सडकमा व्यापार गर्ने मात्र होइन सडकमा ईरिक्सा चलाउने महिलाहरुसमेत बढेका छन् । चुनौती चिर्दै रिक्सा चलाइरहेका महिलाहरु पनि १० हजार रुपैयासहित सम्मानीत हुँदा खुसीले फुरुंग परेका थिए ।
बुटवल उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुटवलका विभिन्न क्षेत्रका सडकमा मकै पोल्न,े पात बेच्ने, र ई–रिक्सा चलाउने तिनै क्षेत्रका जनही १० दश जना गरी कूल ३० जना श्रमिक महिलालाई नगदसहित सम्मान गरेको हो । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले श्रमिक दिवसको अवसर पारेर १० हजार नगदसहित सम्मान गरेको बताए । नगर प्रमुख पाण्डेले जुन सरकारले श्रमिकहरुलाई सम्मान गर्छ त्यो सरकार र सहर नै समवद्धि भएको मानिने दाबी गरे ।
कुनै पनि काम सानो वा ठूलो हुँदैन । हरेक खाले कामको सम्मान गर्नुपर्छ । यही मान्यतासहित बुटवल उपमहानगरले गत वर्षदेखि सम्मान कार्यक्रम आयोजना गरेको उपप्रमुख सावित्रीदेवी अर्यालले बताए ।
श्रमिक महिलाहरुले अन्य सीप सिक्न चाहे पनि उपमहानगरले नि:शुल्क सिकाउने व्यवस्था मिलाउने आश्वासन समेत उप प्रमुख अर्यालले दिए ।
श्रम गर्नेप्रति सम्मान गर्नु सामाजिक न्याय स्थापन गर्नुपनि हो । सडक पेटीमा सालको पात बेच्ने, मकै पोल्ने, ई–रिक्सा चलाएर जीवनयापन गरिरहेका यी श्रमिक महिलालाई सम्मान गरेर बुटवल उपमहानगरपालिकाले सामाजिक न्याय त स्थापना गरेको छ । सम्मानसंगै अब बुटवल उपमहानगरले यी सडकमा व्यापार गर्नेहरुलाई सहज व्यापार गर्न निश्चित क्षेत्र निर्धारण गर्नु पर्छ भने उनीहरूले तयार गरेका सामाग्रिहरुको उचित बजारी करणमा समेत ध्यान पुराउन आवश्यक देखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।