
मुगु।
मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा देउरानीले जेठानीलाई घरेलु हतियार बाउसो प्रहार गरी गम्भीर घाइते बनाएकी छ्न् ।
मंगलबार घरेलु जग्गा विवादका कारण झगडा हुँदा देउरानी बिमला बुढाले जेठानी दुर्गा ऐडिलाई टाउकोमा घरेलु हतियार बाउसो प्रयोग गरी घाइते बनाएको मुगु प्रहरीले जनाएको छ । घाइते दुर्गा ऐडिको टाउको र अनुहारमा गहिरो चोट लागेको जनाइएको छ ।
घरका ससुरा बाचुराम ऐडिका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा तीन भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो ।
त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडिलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको ससुराले बताए ।
झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । अहिले घरेलु हतियार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
देउरानीको प्रहारबाट गम्भीर घाइते जेठानी दुर्गाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरी उपचार भइरहेको जनाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।