ओखलढुंगा
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक दिने मुटु परीक्षण शिविर आज सम्पन्न गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमडौको प्राविधिक सहयोग र जयन्ती स्मृति प्रतिष्ठान काठमडौको समन्वयमा सिद्धिचरण नगरपालिकाले एक दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरबाट २ सय ६७ जना महिला र २ सय ६० जना पुरुष गरी ५ सय २७ जनाको मुटु परीक्षण गरिएको सिद्धिचरण नगरपालिकाले जनाएको छ । यसै गरी शिविरबाट ४ सय ४३ जनाको ईको परीक्षण गरिनुका साथै ४ सय ९१ जना ईसिजी गरिएको जानकारी नगरपालिकाले दिएको छ ।
जिल्लाको सामुदायिक अस्पताल सोब्रुमा आज बिहान ८ बजे देखि ६ बजे सम्म सञ्चालन गरिएको शिविरबाट १८ जनाको थप मुटु परीक्षण गर्नु पर्ने देखीएकोले थप परीक्षण गरि उपचारकालागी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमडौ रेफर गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेलले बताएका छन् ।

शिविर नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा कोशी प्र्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भटट्राईको बिषेश आतिथ्यतामा उद्घाटन गरिएको थियो । शिविर उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुनुवारले नगरपालिका बासीहरुको नि:शुल्क मुटु परीक्षण गराएर सिद्धिचरण नगरपालिकाले स्थानिय तहले गर्नु पर्ने महत्त्वपूर्ण काम गरेको बताए ।
नगरपालिकाले नि:शुल्क मुटु परीक्षण गरेर जनमुखी काम गरेको उनको भनाई रहेको थियो । साथै प्रमुख अतिथि सुनुवारले निःशुल्क मुटु परीक्षण शिविरका लागी संयोजनकारी भूमिका निर्वाह गरेको भन्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमडौका मुटुरोग विशेषज्ञ डा. राजाराम खनाललाई धन्यवाद प्रकट गरे ।
कार्यकममा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल ( तेजन ) ले नगरपालिकाले प्रत्येक बर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तरगत यो आर्थिक वर्षमा नि:शुल्क मुटु रोग परीक्षण शिविर सञ्चालन गरिएको बताए । नगरपालिकाले आर्थिक बर्ष ७९—८० मा महिलाहरुका पाठेघर परीक्षण शिविर र गत आर्थिक वर्षमा जनरल स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख खनालको भनाई रहेको छ ।

शिविरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमडौका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेल, उप प्रा. डा. हेमन्त श्र्ष्ठ, मुटुरोग विशेषज्ञ उप प्रा. डा. राजाराम खनाल, मुटुरोग विशेषज्ञ उप प्रा. डा. सञ्जीव थापा, मुटुरोग विशेषज्ञ उप प्रा. डा. रवि कुमार वराल, डा. आशिष पाण्डे, डा. आशिष तिवारी, स्टाफ नर्सहरु रोजिना पराजुली र दुर्गा देवी तामाङ्ग लगाएतको टोलीको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।