काठमाडौं
पूर्व प्रधानसेनापति जनरल गौरव शमशेर जबरा राणाले नेपाली सेनाका अधिकृत र सैनिकहरूले पाकिस्तानमा प्राप्त गरेको तालिमबाट सेनाको समग्र क्षमतावृद्धिमा योगदान पुगेको जिकिर गर्दै नेपाल र पाकिस्तानको सैनिक सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौंस्थित पाकिस्तानी दूताबासले बुधबार गरेको पाकिस्तानका विभिन्न सैन्य संस्थाहरूमा तालिम प्राप्त गरेका नेपाली सेनाहरूको एलुमनाइ भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै जनरल राणाले दुई देशबीचको सैन्य सम्बन्धबारे प्रकाश पारेका थिए ।

नेपाली सेनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेके पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण टोली समेत सहभागी रहेको उक्त भेलामा विशेष अतिथिको रुपमा पूर्व प्रधानसेनापति जनरल राजेन्द्र क्षेत्रीले पनि उपस्थिति थियो।

पाकिस्तानी दूतावासका रक्षा सहचारी कर्नेल मुहम्मद अली अल्वीले स्वागत मन्तव्य राख्दै नेपाल र पाकिस्तानका सशस्त्र बलहरूबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्नुका साथै तालिमको क्षेत्रमा रहेको जीवन्त सम्बन्धबारे प्रकाश पारे । उहाँले नेपाली सेनाको क्षमतावृद्धिका लागि पाकिस्तान सशस्त्र बलले निरन्तर समर्थन दिँदै आएको जिकीर गर्नुभयो।

कार्यक्रमका नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले समापन मन्तव्यमा पाकिस्तान र नेपालबीचको सम्बन्ध आपसी विश्वास र पारस्परिक लाभमा आधारित रहेको उल्लेख गर्दै दुवै देशका सशस्त्र बलहरूबीचको वर्तमान सैन्य सम्बन्ध अझ सुदृढ भई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । एलुमनाई भेलाका सहभागीहरूले पाकिस्तान र त्यसको मिसनप्रति आभार व्यक्त गर्दै पाकिस्तानमा बिताएका अविस्मरणीय क्षणहरूलाई स्मरण गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।