काठमाडौं।
नेपाल व्यावसायिक कलाकार संघ (क्यान) को चौथौं राष्ट्रिय महाधिवेशनले प्रेमलाल श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ललितपुरमा शनिबार सम्पन्न महाधिवेशनले सह अध्यक्षमा तिलक प्रसाद पुनलाई चयन गरेको छ।

त्यसैगरी उपाध्यक्षहरुमा कमलराज श्रेष्ठ, एच.बि. रम्तेल, बाबुराम बस्ताकोटी, बाबुराजा द्यःला, रुद्रराज सिंह, सुरेश कुमार पाल्पाली र विष्णु प्रसाद सिग्देल निर्वाचित भएका छन् । महासचिवमा भोलानाथ पौडेल, उपमहासचिवमा दिपेन्दूमान बनेपाली, सचिवमा विजय कुमार कार्की दली र दिपक कुँवर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा देवी प्रसाद तिम्सिना निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा सुष्मा श्रेष्ठ, मानकाजी श्रेष्ठ, राधेश्याम मुल्मीलगायत निर्वाचित भएका छन् । २१ जना सदस्य भने पछि मनोनित गरिने बताइएको छ ।

यसअघि महाधिवेशनको उद्घाटन गर्दै वागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले वागमति प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नुपर्ने कलाकारहरुको मागलाई सम्बोधन गर्न आवश्यक ऐन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलैकलाको संग्रहालयको रुपमा रहेको बागमति प्रदेशमा एउटा प्रज्ञा प्रतिष्ठानको गठन हुनुपर्ने माग राखेका थिए ।

उनले यो प्रदेशमा स्रोत र साधनको कमी नभएको तर उपयोग हुन नसकेको भन्दै संस्थागत पहलमा प्रतिष्ठान गठन गरी उक्त स्रोतहरुको परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।