
काठमाडौं।
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले उनीविरुद्ध आएको अविश्वासको प्रस्ताब अवैधानिक भएको भन्दै चाहेमा कानुनी उपचारसमेत खोज्ने बताएका छन् ।
उक्त प्रस्ताब ल्याइएको प्रक्रिया अवैधानिक तथा नियोजित भएको गुरुङले बताएका हुन् । उनीमाथिको अविश्वासको प्रस्तावमा निर्णय गर्न यही जेठ ३ गते विशेष साधारणसभा बोलाइएको छ । उनले यो अवैधानिक रहेकोले यसलाई रोक्न राष्ट्रिय खेलकुद परिषद्मा निवेदन पनि दिएका छन् ।
अविश्वासको प्रस्ताब आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले गुरुङलाई निलम्बन गरेर विशेष साधारणसभाको प्रक्रिया अगाडि बढाएको हो । उनले बुधबार पत्रकार सम्मेलनमा बताए कि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एकलौटी चलाएको आरोप लगाए ।
गुरुङका अनुसार उनीमाथिको अविश्वास प्रस्ताब र प्रस्ताब ल्याउनका लागि आधारका रुपमा प्रस्तुत गरिएको प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ नै आफैमा अवैधानिक छ । क्यानको साधारणसभाले प्रादेशिक क्रिकेट संघ विनियमावली २०८० पास गरिसकेको अवस्थामा अचानक अध्यक्षले नयाँ विनियमावली ल्याएर क्यान कब्जा गर्न खोजेको उनको आरोप थियो ।
उनले अध्यक्षले एकलौटी रुपमा यस्तो गर्न नमिलेको पनि बताए । अध्यक्ष चन्दले क्यान कब्जा गर्ने रणनीतिअनुसार पहिला सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा अध्यक्षविरुद्ध कार्यसमितिका ११ जनालाई राजीनामा गराएको र त्यसपछि लुम्बिनीमा पनि अध्यक्ष फेर्ने षडयन्त्र थालेको उनको दाबी छ ।
उनले भने, ‘लुम्बिनीमा उहाँ सफल हुनुभयो भने अबको पालो कोशी प्रदेशको हो । सुदूरपश्चिममा उहाँले आक्रमण गर्दा नै त्यसपछि लुम्बिनी भनिएको थियो । अहिले त्यस्तै भयो । अब लुम्बिनीपछि कोशी भनिएको छ । सबै प्रदेशको पालो आउँछ । अनि जिल्लामा हस्तक्षेप गरेर चुनाव अघिसम्ममा सबैतिर आफ्नो एकलौटी गर्ने उहाँको योजना हो ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।