काठमाडौं ।
काठमाडौं र ललितपुरको सीमाना भएर बग्ने बागमती नदी किनार सुन्दरीघाट र चोभारगेट क्षेत्रका बासिन्दा यस पटक अझ ठूलो डुबानको सम्भावना देखेर त्रसित बनेका छन् ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको लापर्वाहीका कारण नदीको बहाब क्षेत्रमा संरचना निर्माण गर्ने र माटोको पहाड बनाउने अभ्यासका कारण त्रास बढेको हो । साविक नापीनक्सामा भएको क्षेत्रफललाई कायम नगरी मापदण्डको नाममा जहाँसुकै बहाब क्षेत्र ८० मिटर देखाई भूमाफियालाई पोस्ने काम गरिएकाले यो विनासको सम्भावना बढेको स्थानीय नागरिकहरुको भनाइ छ ।
‘बागमती विकास समितिले बहाब क्षेत्र ८० मिटर कायम गरी लगाएको पर्खालभित्र माटोका पहाड विद्यमान छन्, यस कारण नदीको बहाब अनियन्त्रित बनेको छ’, चोभारगेटका बासिन्दा लव कार्की बताउनुहुन्छ । प्राविधिक रुपमा यसै क्षेत्रको लामो अनुभव सँगालेका कार्की भन्नुहुन्छ, काठमाडौं महानगरपालिकाले पनि फोहोर व्यवस्थापनका नाममा र पुनर्निर्माणका क्रममा भत्केका संरचनाका अवशेषहरु नदी किनारमै विसर्जन गर्नाले पनि नदी अनियन्त्रित बनेको हो । यसले गर्दा किनारका वस्तीहरु डुवानमा पर्ने त्रास बढिरहेको छ । बागमती नदीको सतह हरेक वर्ष औशत ३० देखि ५० सेन्टिमिटर माथि उठेको पनि कार्कीले जानकारी गराउनुभयो । उहाँले सतह मिलाउनुको साटो नदीको बीचमा बनेका माटोका पहाड पनि नपन्छाउँदा समस्या दिन प्रतिदिन बढेको छ ।

स्थानीय क्लब सृजनशील समाजका अध्यक्ष चित्रकुमार सुनुवारका अनुसार ‘कलंकीदेखि कोटेश्वरसम्म चक्रपथ विस्तार गर्दा निस्केको फोहोर माटो ठेकेदार कम्पनीले सुन्दरीघाटमा ललितपुरतर्फ ठूलो परिमाणमा थुपारेको कारण नदी काठमाडौंतर्फ धकेलिएको, त्यस क्षेत्रमा ८० मिटरको मापदण्ड कायम गरी हालसम्म रिटेनिङवाल पनि नलगाइएका कारण समस्या बढेको छ’, बागमती नदी सफाई अभियानमा शुरुदेखि नै सक्रिय अभियन्ता सुनुवार प्रष्ट पार्नुहुन्छ- सो क्षेत्रमा नदीको बीचमा माटोको पहाड बनेको तर हटाउने प्रयास नभएका कारण नदी काठमाडौंको कीर्तिपुरतर्फ धकेलिएको हो ।
वर्षको तीन पटक यस क्षेत्रमा डुवान हुँदै आएको अर्का स्थानीय नागरिक धनराज कार्की उल्लेख गर्नुहुन्छ । उहाँ समस्या समाधानका लागि साविकको झोलुङ्गे पुलको जगलाई आधार मानेर नदीको दायाँबायाँ रिटेनिङवाल बनाउने र सतह बढ्न नदिने हो भने डुवानको समस्या स्थायी रुपमा समाधान हुने देख्नुहुन्छ ।

नदी किनारका पुराना बासिन्दा सिद्धिबहादुर महर्जन भन्नुहुन्छ, ‘नदीले आफ्नो सीमा बाहिर आएर हामीलाई उठिवास नलगाओस् भन्ने सोचले कीर्तिपुरतर्फ किनारमा माटो हाल्ने, त्यसलाई प्रेसर दिएर बलियो बनाउने काम गर्नखोजेको हो, तर किनारका बासिन्दा त प्रभावित हुने हुन् नि भनेर अरुले यस कुराको विरोध गरेका छन्, आज किनारको मलाई असर पर्छ, भोलि त उनीहरुको पनि त पालो आउँछ नि, खोलाले कसैलाई छोड्दैन !’ महर्जन ललितपुरतिर खोलाको बहाब क्षेत्रमा चाइनिज निर्माण कम्पनीले संरचना बनाइदिएका कारण पछिल्लो समय खोला काठमाडौंतर्फ पेलिंदा आफू समस्यामा परेको जानकारी गराउनुहुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।