
उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले जिल्लामै पहिलो पटक २०७९ जेठदेखि २०८१ फागुन मसान्तसम्मको मध्यावधि समीक्षा प्रतिवेदन शुक्रबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।
चौदण्डीगढी नगरपालिकाको सभाकक्षमा आयोजित मध्यावधि समीक्षा सार्वजनिक कार्यक्रममा नगरपालिकाक प्रमुख कालुमान लामाले २०७९ जेष्ठदेखि हालसम्मको अढाई वर्षको अवधिमा गरेका कामको विवरण सहितको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साबिक ६ वटा गाउँविकास समिति बेल्टार, सिद्धिपुर, चौदण्डीगढी, हडिया, सुन्दरपुर, बसाहा मिलेर चौदण्डीगढी नगरपालिका बनेको र १० वटा वडामा विभाजन भएको र यी १० वटामा वडामा भए गरेका कामहरु समीक्षा प्रतिवेदनमा समेटिएको जानकारी मेयर लामाले बताएका छन् ।
मेयर लामाले २०७९ जेष्ठदेखि २०८१ फागुन मसान्तसम्म भएका कामहरुको संगालोको रुपमा हाते पुस्तक प्रकाशन गरेको जानकारी दिँदै जेष्ठ नागरिक, महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य, कृषि पशुपंक्षी, सामाजिक क्षेत्र, राजस्व संकलन, मनोविमर्श, भूमि सेवा,रोजगार कार्यक्रम, प्रशासनिक क्षेत्र आदिका उल्लेख्य काम गरेको जनाएका छन्।
खासगरी शिक्षा क्षेत्रमा विगतको तुलनामा आमूल परिवर्तन भएको र विदालयलाई एकीकरण, घटुवा गरेको, यस नगरपालिकाभित्रका दुई क्याम्पसमा पूर्णकालिन क्याम्पस प्रमुखको व्यवस्थापन गरेर शैक्षिक क्षेत्रमा सुधार गर्दै लगेको, वर्षमा सय जनाभन्दाबढीलाई छात्रवृति दिएको, पालिकाले एक जना एमबिबिएस डाक्टर पढाउन शुरु गरेको, क्याम्पसमा पढने गरिब तथा जेहेन्दारलाई छत्रवृतिका व्यवस्था गरिएको, पालिका भित्रका विद्यार्थीहरु मध्येबाट १० प्रतिशत छानेर पालिकाले पढाउने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा मेयर लामाले जानकारी दिएका छन् ।
नगर अस्पतालमा १ जना एमबिबिएसका दरबन्दी नेपाल सरकारले दिएकोमा हाल नगरपालिकाले ३ जना नियुक्त गरेर जेष्ठनागरिक हरुकालागि फिजियो थेरापी, नाक कान,घाँटी, आँखा उपचार शुरु गरेको र सर्पदंशको उपचार कालागि प्रमाणपत्र प्राप्त भएकोले दुई दिनपछि सर्पदंशको उपचार पनि संचालन हुने बमेयर लामाले सो पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
यसैगरी भौतिक पूर्वाधारतर्फ २५ किलोटिर सडक कालोपत्रे गरेको, २५ किमी ग्राभेल सडक, ट्रष्ट पुल, झोलुङ्गेपुल, कोशी प्रदेश मै अपाङमैत्री पालिका भवन, फरक क्षमताका मानिसहरुकालागि सेतो छडी, ह्वीलचेयर,कृत्रिम खुट्टा उपलब्ध गराउनुका साथै ७ हजारभन्दा बढीलाई आँखाको निःशुल्क उपचार गराएको जानकारी दिँदै मेयर लामाले सुन्दर समृद्ध नगर बनाउने अभियान, हरेक नगरवासीको मुहारमा मुस्कान भन्ने मुलनाराका साथमा चौदण्डीगढीको विकासको साथमा समृद्धिकालागि सबै पक्षसँग छलफल गर्ने र स्थानीय जनतालाई बढी फाइदा हुने काममा बढी ध्यान दिने पत्रकार सम्मेलनमा बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।