
स्याङ्जा।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरुका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो ।
मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण एवं विकास सहजीकरणलगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकहरुमा मूल्याङ्कन हुने गर्छ ।
यसभन्दा अगाडीका मुल्याङ्कनमा स्याङ्जा २७ औं र दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये स्याङ्जाले १८ दशमलव १२५ अंक प्राप्त गरेको छ । आर्थिक बर्ष २०८१-०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबिच भएको कार्यसम्पादन सम्झौता अनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताए । चौथो त्रैमासिकमा पनि स्याङ्जाले यो साख बचाउने विश्वास सहायक प्रजिअ पौडेलको छ ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रोमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल थिइन् भने तेस्रो त्रैमासिकमा केही समय नेपाल र केही समय वर्तमान प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल रहेका थिए ।
निवर्तमान प्रजिअ नेपाल स्याङ्जा रहँदा प्रशासनिक कार्यमा गरेको कार्यसम्पादनको नागरिकस्तरबाट पनि प्रशंसा गरिएको थियो । नदीजन्य पदार्थ उत्खनन् र विपत व्यवस्थापनमा नेपालले खेलेको भूमिका निकै राम्रो थियो भने बालवालिकाका क्षेत्रमा पर्ने असरहरुका बारेमा नेपालले पालिकास्तरमा पुगेर प्रशिक्षण समेत गरेका थिए । जसले गर्दा बच्चाको जन्मदर्ता, नागरिकता पाउन कठिन भएका समस्याहरु हल गर्न सफल भएका थिए ।
उनको सरुवापछि प्रमुख जिल्ला अधिकारीको रुपमा हाल ईश्वरीप्रसाद अर्याल रहेका छन् । अर्यालको पनि छोटो समयमा राम्रै प्रशंसा भएको पाइन्छ । प्रशासनबाट हुने कार्यसम्पादनमा नागरिकमैत्री भावका कारण उनी प्रशंसित भएका हुन् । कुनैपनि नागरिक प्रशासनबाट काम सकेर फर्कदा हाँसेर फर्कनुपर्छ भन्ने मान्यता राखेर काम गर्न प्रजिअ अर्यालले कर्मचारीलाई निर्देशन समेत दिएका छन् । जसले गर्दा प्रशासनमा आउने सेवाग्राहीहरुमा कुनै समस्या नहुने गरेको बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।